
लघुवित्त खारेजीको आन्दोलनलाई नेतृत्त्व गरिरहेको 'लघुवित्तीय सँस्था बिरुद्दको संघर्ष समिति नेपाल' ले आजदेखि देशब्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। आन्दोलनको रुप र माग यस अगाडी भन्दा फरक र नयाँ हुने संघर्ष समितिले जनाएको छ।
आज एक पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा हुने र आजैदेखि शान्तिबाटिकामा आन्दोलनको कार्यक्रम सुरु हुने लघुवित्त खारेजी आन्दोलनको संस्थापक समेत रहेका संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले बताए।
"हामीले आजै आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन पनि सुरु गर्छौं, यस पटक हाम्रा माग र आन्दोलनका कार्यक्रम फरक र नयाँ हुनेछन्" ज्ञवालीले बिजपाटीलाई भने, "हाम्रो आन्दोलन नेकपा माओवादीले गराएको भन्ने आरोप लागेको छ, त्यो आरोप पनि आजै चिर्छु।"
ज्ञवालीका अनुसार यस अगाडीका मागलाई यथावत राखेर आजै चार नयाँ माग समेत घोषणा हुनेछ। लघुवित्तबारे आफुले अगाडी सारेका मागबारे नेपाल राष्ट्र बैंक लगायतका सरोकारवालाहरुले बेवास्ता गरेकाले नयाँ माग थपेर आन्दोलनलाई थप ससक्त बनाउनुपरेको हो।
ज्ञवालीले आज एक पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनबारे जानकारी दिने कार्यक्रम रहेको छ। संघर्ष समितिले राष्ट्रिय स्यमसेवक नेपालको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौमा सम्पन्न गरि मनोज पौडेलको नेतृत्वमा १०५ सदस्य केन्द्रीय समिति गठन समेत गरेको छ।