क्यासलेस अभियानबाट पछि हट्यो इ-सेवा, अब अनलाइन भुक्तानीसँगै एटिएमबाट नगद सेवा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2023 | 09:56:43 AM मा प्रकाशित

laxmi  sunrise bank

इ-सेवाले आफ्नै भिजन विपरित हुने गरी एटिएमबाट नगद झिक्ने कारोबारमा हात हालेको छ। क्यासलेस (नगदमा कारोबार) नगरी अर्थतन्त्रको सबै कारोबार डिजिटल रुपमा गर्ने भिजन बोकेको इ-सेवाले नगद कारोबार हुनेगरी नयाँ सेवा ल्याएको हो। 

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इ-सेवामा रहेको रकम अबदेखि एटिएममार्फत पनि झिक्न सकिने सेवा सुरु गरेको हो । अर्थात् अब डिजिटल रुपमा रहेको रकमलाई बैंकको एटिएममार्फत झिकेर फेरि नगद मै परिणत गरिनेछ ।  

इ-सेवाले अबदेखि आफ्नो खातामा रहेको रकम एटिएम मेसिनमार्फत पनि सहजै झिक्न सक्ने जनाएको हो । इ-सेवाले हाल एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटिएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको हो । इ-सेवामा रहेको रकम एटिएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नु नपर्ने उल्लेख गरेको छ । इ-सेवाका अनुसार प्रयोगकर्ताले आफ्नो मोबाईलमा आउने ओटिपीमार्फत सहजै एटिएमबाट नगद रकम झिक्न सक्नेछन् । 

यसअघि इसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्स्फर गर्नुपर्ने हुन्थ्यो । तर अबदेखि एटिएममार्फत पनि रकम झिक्न सकिने भएपछि प्रयोगकर्तालाई झनै सहज हुने दावी गरिएको छ । यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक सुरूवात गरिएको उसले उल्लेख गरेको छ । 

इ-सेवामा रहेको रकम एटिएममार्फत पनि झिक्न सकिने सेवाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा इ-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने,‘प्रयोगकर्तालाई इसेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उद्देश्यले हामीले एभरेष्ट बैंकसँगको सहकार्यमा एटिएमबाटै रकम झिक्न सकिने सेवाको सुरूवात गरेका हौँ । हामी जहिले पनि क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमका सेवा संञ्चालन गर्दै आएका छौँ । तर कहिलेकाहीँ इसेवामा रहेको रकम क्यासमा नै चाहिए पनि प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले हामीले यो सेवाको सुरूवात गरेका हौँ । हामी नेपाल सरकार र नेपाल राष्ट्रबैंकको क्यासलेस अर्थतन्त्र बनाउने अभियानमा निरन्तर लागिरहेका छौँ र लागि नै रहनेछौँ । जसका लागि आगामी दिनमा पनि हामीले सोही अनुसारका सेवा सुविधाहरू थप गर्दै जान प्रतिबद्ध छौँँ ।’

एभरेष्ट बैंकका डेपुटी सिइओ विजयकुमार शर्माले भने,‘बैंक जहिले पनि आफ्ना ग्राहकलाई नयाँ सेवा र सुविधा दिन तत्पर छ । यसै क्रममा इ-सेवा जस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी पनि उत्साहित छौँ । इसेवाका प्रयोगकर्ताले एभरेष्ट बैंकका देशभर रहेका कुनै पनि एटिएम मेसिनमार्फत सहजै रकम झिक्न सक्नुहुनेछ । हामी यो आशा गर्दछौँ की यसले नेपालभर रहेका इसेवाका लाखौँ प्रयोगकर्तालाई धेरै सहज बनाउनेछ ’।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved