चन्द्र ढकालले गरे बिमस्टेक बिजनेस फोरम गठनको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 06:42:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धधन गर्न प्रभावकारी पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका छन् । मङ्गलबार भारतको कोलकातामा ‘बिमस्टेक बिजनेस कन्क्लेभ’ अन्तर्राष्ट्रिय व्यापार मञ्चको विशेष सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्गजस्ता पूर्वाधार निर्माणको आवश्यकता रहेको बताएका छन् ।

 यसका साथै, हवाई तथा डिजिटल कनेक्टिभिटी बढाउन, पूर्वाधार सञ्जाल सुधार गर्न र नयाँ पूर्वाधारहरू निर्माण गर्न बिमस्टेक सदस्य देशहरूले संयुक्त रूपमा लगानी गर्न आवश्यक रहेको पनि उनले बताए । 

सहज ढुवानीका लागि सडक तथा बन्दरगाहजस्ता भौतिक पूर्वाधारको बृद्धि गर्न आवश्यक रहेको बताउँदै उनले क्षेत्रीय मूल्य शृङ्खलाको विकासमा सहयोगका लागि पूर्वाधारको विकास र स्तरोन्नतिका लागि संयुक्त प्रयास गर्न सकिने बताए । अध्यक्ष ढकालले भने, “ऊर्जासँग सम्बन्धित पूर्वाधारको विकास र ऊर्जा व्यापारसहित क्रसबोर्डर ऊर्जा सहयोग प्रवर्द्धनले क्षेत्रीय मूल्य शृङ्खलाहरूमा बढिमात्रामा ऊर्जा आवश्यक पर्ने उद्योगहरूको विकासलाई सहयोग पुग्न सक्छ । उदाहरणका लागि, नेपाल–बङ्गलादेश र भारतले नेपालको जलविद्युत् बङ्गलादेशसम्म निर्यात गर्न जलविद्युत् प्रसारण लाइनमा काम गरिरहेका छन् ।” 

उनले नेपालमा उत्पादित बिजुली भारत हुँदै बङ्गलादेशसम्म पुग्ने र यसलाई बिमस्टेकका अन्य सदस्य राष्ट्र र त्यसभन्दा बाहिर पनि विस्तार गर्न सकिने धारणा राखे । कनेक्टिभिटी पूर्वाधारका अतिरिक्त, बिमस्टेक देशहरूले क्षेत्रीय व्यापार र लगानीलाई सहज बनाउन व्यापारमा लाग्ने विभिन्न गैर–भन्सार अवरोधहरू हटाउन र घटाउनु आवश्यक रहेकोमा अध्यक्ष ढकालको जोड दिए ।

बिमस्टेक राष्ट्रहरूले क्षेत्रीय मूल्य शृङ्खलाहरूको लागि अनुकूल वातावरण सिर्जना गर्न आफ्नो व्यापार र लगानी नीतिहरू सहज र सरल बनाइ भन्सार प्रक्रिया, आवश्यक नीति नियम सरल बनाउँदै लगानी सहजीकरणका उपायहरू प्रवर्द्धन गर्न सकिने उनले बताए ।

“यस क्षेत्रको स्वतन्त्र व्यापार व्यवस्थाले सदस्य राष्ट्रहरूबीचको द्विपक्षीय र बहुपक्षीय व्यापार बढाउन सहज बनाउन सक्छ । नेपालले आफ्नो निर्यातमा लाग्ने कर हटाउने वा घटाएकोमा फाइदा लिन सक्छ, जसले गर्दा व्यापारको मात्रा बढ्छ र निर्यातमा विविधीकरण हुन्छ”, अध्यक्ष ढकालले भने । उनले क्षेत्रीय कनेक्टिभिटी र व्यापार सम्झौताले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न पनि मद्दत गर्ने बताएका छन् ।

“बिमस्टेक राष्ट्रहरूबीचको राम्रो कनेक्टिभिटी र व्यापार व्यवस्थाले एफडीआईलाई आकर्षित गर्न मद्दत गर्नेछ । बजार पहुँच सुधार गर्न तथा व्यापार अवरोधहरू कम गर्न सकेमा विदेशी कम्पनीहरूलाई अर्थतन्त्रका विभिन्न क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नेछ, जसले बिमस्टेक देशहरूमा आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्नेछ”, उनले भने। उनले बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार र लगानीलाई प्रवर्द्धन गर्न बिमस्टेक बिजनेस फोरम गठन गर्न सकिने प्रस्ताव पनि गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved