नेपालमा लगानी गर्न अर्जेन्टिना समक्ष चेम्बरको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 04:04:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अर्जेन्टिनलाई आग्रह गरेको छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोवीसंग चेम्बर भवनमा आज भएको भेटबार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले लगानीका लागि आग्रह गरेका हुन् ।

नेपालको पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा प्रतिफलको उच्च सम्भावना भएको अध्यक्ष मल्लले बताए । मल्लले भने, ‘अर्जेन्टिना भौगोलिक दृष्टिकोणले टाढा भएपनि ब्यापारिक क्षेत्रमा थुप्रै सहकार्य गर्न सकिन्छ । नेपालको पर्यटन क्षेत्र पृथक खालको छ  । सूचना प्रविधिमा पनि अधिक सम्भावना छ । दुई देशका निजी क्षेत्रबीच सहकार्य मार्फत लगानीका लागि आग्रह गर्दछु, ।’

नेपालमा अवैतनिक दूतको नियुक्ती गरेर ब्यापारिक सहकार्य गर्न समेत अध्यक्ष मल्लले राजदूत गोवीसंग आग्रह गरे । नेपाल अर्जेन्टिनाबीचको कुटनीतिक सम्वन्ध ६० वर्ष पुरा भएको सन्र्दभमा अध्यक्ष मल्लले व्यापारिक सम्वन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । 

अध्यक्ष मल्लले अर्जेन्टिनाको निजी क्षेत्र  र नेपाल चेम्बर अफ कमर्सबीच सहकार्य गर्न सकिए आर्थिक गतिविधी विस्तार हुने बताए । नेपालले अर्जेन्टिनाबाट गतवर्ष करिव २५ अर्व रुपैयाँको बस्तु आयात गरेको थियो । 

राजदूत गोवीसंग अध्यक्ष मल्लले नेपालको जलविद्युत, बनजन्य उद्योग, जडीबुटी प्रशोधन जस्ता क्षेत्रमा समेत लगानीका लागि प्रस्ताव गरे । दुई देशका निजी क्षेत्रस्तरमा उच्चस्तरीय व्यपारिक भ्रमण गराएर आर्थिक गतिविधी विस्तार गर्न सकिनेमा अध्यक्ष मल्लले जोड दिए । 

जवाफमा राजदूत गोवीले नेपालमा आर्थिक गतिविधी विस्तार गर्नका लागि आफुले पहल गर्ने बताए । हिमालय पर्वतको देश नेपाल भौगोलिक र प्राकृतिक दृष्टिकोणले समेत उच्च रहेको राजदूत गोवीको भनाई छ ।

दुई मुलुकबीचको सम्वन्धलाई जनस्तरबाटै विकास गर्नुपर्नेमा राजदूत गोवीले जोड समेत दिनुभयो । उनले भने, नेपालसंगको सम्वन्धलाई जनस्तरबाटै विकास गर्न आवश्यक छ यसका लागि पनि म पहल गर्छु, ।’ नेपालको खाद्य सुरक्षाका लागि सहयोग गर्न अर्जेन्टिना तयार रहेको समेत राजदूत गोवीले बताए । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved