एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७ औं सम्मेलन काठमाडौंमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2023 | 06:01:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घको ३७औं सम्मेलन सोमबारदेखि काठमाडौंमा हुने भएको छ । परिसङ्घ, एशिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासङ्घ÷सङ्घको छाता संस्था हो ।

सम्मेलन कात्तिक २० र २१ गतेसम्म चल्ने नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । सम्मेलनको मुख्य विषय ‘चेम्वर्स अफ कमर्स हेल्पिङ विजनेश गेट सेट फर द फयुचर’ रहेको छ । 

महासङ्घको आतिथ्यतामा आयोजना हुने सम्मेलनको सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटनसहित सम्बोधन गर्ने छन्। विश्व आर्थिक मन्चमा राम्रो पहिचान बनाउन सफल यस संस्थाको यसअघि २६औँ सम्मेलन पनि महासङ्घको आयोजनामा काठमाडौँमा सम्पन्न भएको थियो ।

समुद्घाटन कार्यक्रमलाई पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने छन् भने अर्थमन्त्री डा प्रकाशरण महत, महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासङ्घका पूर्वअध्यक्ष एवं परिसङ्घका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठ, परिसङ्घका अध्यक्ष पिटर म्याकमुलिन एम र महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सम्बोधन गर्ने छन्।

परिसङ्घले एशिया प्यासिफिक क्षेत्रका देशमा उद्योग, व्यवसाय, लगानी प्रविधिको विस्तारमार्फत यस क्षेत्रका जनताको जीवनस्तर सुधार र आपसी लाभका क्षेत्रमा काम गरिरहेको छ ।

यस सम्मेलनमा एशिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दाबढी व्यावसायिक नेताहरु र नेपालका प्रतिष्ठित उद्यमी व्यवसायीहरु, सरकारी प्रतिनिधिसमेत गरी करिब दुई सयभन्दा बढीको सहभागिता रहने महासङ्घले जनाएको छ ।

सम्मेलनबाट नेपालमा एशिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि, पर्यटन आकर्षण हुने अपेक्षा गरिएको छ । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका देशबीच आपसी सहकार्यका माध्यमबाट दीगो विकास, उद्यमशीलता, व्यापार प्रवद्र्धनमा मुख्य जोड दिइने छ ।

सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशीलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय सञ्जाल विस्तार, एशिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौतीलगायतका महत्वपूर्ण विषयमा दुुई दिनसम्म एशिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधि र नीति निर्माताले विचार विर्मश गर्नेछन् ।

नेपाल र एशिया प्रशान्त क्षेत्रका राष्ट्रबीच बलियो सम्बन्ध विस्तारमा यो सम्मेलन कोशेढुुङ्गा हुने विश्वास महासङ्घको छ । निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था महासङ्घ यस संस्थाको संस्थापक सदस्य रहिआएको छ ।

सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै कात्तिक २१ गते समापन गरिनेछ । सन् १९६६ मा स्थापना भएको परिसङ्घ एशिया–प्रशान्त क्षेत्रभित्रका व्यावसायिक संस्थालाई एकताबद्ध गर्दै यसका सदस्य राष्ट्रबीच आर्थिक सहयोग, व्यापार र लगानी प्रवद्र्धनमा एक सक्रिय साझा मञ्चको रूपमा कार्य गर्दै आएको छ ।

यसको बलियो सञ्जाल र सशक्त पहलमार्फत उद्यमशीलता, दिगो विकास र सीमापार व्यापार सहजीकरणलाई समर्थन गर्ने नीतिहरूको पैरवीमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved