१८ देशका निर्माण व्यवसायीहरूको अन्तराष्ट्रिय सम्मेलन नेपालमा हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2023 | 04:43:29 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंमा एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनको हुने भएको छ। इफाप्का अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले शुक्रवार आयोजित पत्रकार सम्मेलन मार्फत् ४६ औं इफाप्काको तयारी पूरा भएको जानकारी दिएका छन्।

उनका अनुसार दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित यही मंसिर ५ गतेदेखि शुरु हुने सम्मलेन ९ गतेसम्म चल्नेछ । सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने छन्। त्यस्तै इफाप्का फोरमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने महासंघले जनाएको छ । सम्मेलनमा  विदेशका २ सय ४२ सहित ५ सय भन्दा बढीको सहभागिता रहने महासंघ अध्यक्ष सिंहले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुनका लागि विदेशी प्रतिनिधिहरू काठमाडौं आउने क्रम शुरु भइसकेको पनि उनले जानकारी दिए । हाल समग्र विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र त्यसबाट नेपाल पनि अछुतो नरहेको वर्तमान अवस्थामा मुलुकको भौतिक पूर्वाधारको विकासमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन ४६ औं इफाप्का सम्मेलन महत्वपूर्ण हुने उनको भनाइ थियो। जलवायु परिवर्तनको मुद्दा जोडदारसँग उठाउन र बाह्य पर्यटनको विस्तारका लागि समेत यो सम्मेलन फलदायी हुने उनले जानकारी दिए। सम्मेलनका कार्यक्रमहरू सार्वजनिक गर्दै अध्यक्ष सिंहले काठमाडौं घोषणापत्रसँगै मंसिर ८ मा सम्मेलन समापनको औपचारिक घोषणा गरिने बताए ।

सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूका लागि रजिष्ट्रेशन मिति ः मंसिर ४,५ र ६ गते तोकिएको छ । ५ गते नै फाइनान्स कमिटी मिटिङ, प्रेसिडेन्सियल कनक्लेभ र एक्जिक्यूटिभ बोर्ड मिटिङ आयोजना गरिनेछ । मंसिर ६ मा जनरल एसेम्बली सहित विभिन्न कमिटीहरूको बैठक आयोजना हुनेछ । यसै दिन सम्मेलनका केही सहभागीहरू वसन्तपुर र स्वयम्भूको अवलोकन भ्रमणमा जाने र दोस्रो एक्जिक्यूटिभ बोर्ड मिटिङ र इमर्जिङ योङ लिर्डस् कार्यक्रम आयोजना गरिने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ  । मंसिर ७ मै गोकर्ण गल्फ मैदानमा एफक्यान—इफाप्का गल्फ प्रतियोगिता गरिने र  मंसिर ८ गते नयाँ कार्य समिति चयन गरी उक्त कार्य समितिको एक्जिक्यूटिभ बोर्ड मिटिङ र केही सहभागीहरूका लागि भक्तपुर दरबार स्क्वायरको अवलकोन भ्रमण कार्यक्रम राखिएको छ ।

यसै सम्मेलन मार्फत् गत एक वर्ष अघिदेखि इफाप्का अध्यक्षको कार्यभार सम्हाली रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरलाई हस्तान्तरण गर्ने छन् । सिंहको कार्यकालमा नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार समेत रहनु भएका विरेन्द्र राज पाण्डेले महासचिव र कार्य समिति सदस्य सुशीलकुमार श्रेष्ठले बोर्ड मेम्बरको भूमिका निर्वाह गरेका थिए ।

४६ औं इफाप्का सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न इफाप्का तथा महासंघ अध्यक्ष रवि सिंहको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति र मूल आयोजक समिति मातहतका ९ वटा उपसमितिहरू गठन गरिएको महासंघले जनाएको छ । महासंघका सल्लाहकार एवं इफाप्का महासचिव विरेन्द्रराज पाण्डेले मुलुकको प्रतिष्ठासँग जोडिएको ४६ औ इफाप्का सम्मेलनलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले ४६ औं सम्मेलनलाई सफल बनाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने धारणा राखे । महासंघका महासचिव रोशन दाहालले सदस्य राष्ट्रहरूबीचको सहकार्य तथा निर्माण कार्य सम्बन्धी अनुभव आदानप्रदानका लागि इफाप्का उपयुक्त मञ्च भएको बताए । 

महासंघका प्रवक्ता समेत रहनु भएका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले ४६ औं इफाप्का सम्मेलनबाट नेपालले धेरै लाभ लिन सक्ने भएकाले सम्मेलन सफल बनाउन सम्बन्धित् सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे । यसअघि नेपालले २४ वर्ष अघि सन् १९९९ मा अग्रज निर्माण व्यवसायी श्री गणेश लाल श्रेष्ठ इफाप्का अध्यक्ष रहेको समयमा काठमाडौंमा ३० औं इफाप्का सम्मेलन आयोजना गरेको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved