दुबईबाट चन्द्र ढकालको आह्वान 'नेपालको जलविद्युत र पर्यटनमा लगानी गर्नोस्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 01:32:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् ।

युएईको दुबईमा आयोजित वल्ड गभर्मेन्टस् समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा प्रचुर सम्भावना रहेको बताउँदै यसको फाइदा लिन विश्वभरका लगानीकर्ताहरुलाई आह्वान गरेका हुन् । 

उनले नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यावसायिक वातावरण सुधार गर्न पहल गरिरहेको बताए । 

“नेपाल सरकारले यही अप्रिल २८/२९ मा आयोजना गर्न लागेको नेपाल लगानी शिखर सम्मेलन २०२४ लाई मध्यनजर गर्दै नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन–नियममा संशोधनको प्रक्रिया अगाडि बढाएको छ । साथै, विभिन्न सम्भावित साझेदार मुलुकहरुसँग द्विपक्षीय लगानी सम्झौता गरी लगानी सुरक्षाको प्रत्याभूति गर्न गइरहेको छ । यसले दुई देशबिच व्यावसायिक गतिविधि विस्तारमा सहज वातावरण बनाउनेछ,” उनले भने ।

उनले यसको सदुपयोग गर्न लगानी सम्मेलन २०२४ मा सहभागी हुन र यसको फाइदा लिन समेत आग्रह गरे । 

शेपिङ फ्युचर गभर्मेन्ट भन्ने नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वभरका सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, राजनैतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेकोछ । शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved