नेपाल स्टक एक्सचेन्ज, नेप्सेले विकास बैंक र लघुवित्तलाई अलग अलग उपसूचकमा राख्ने भएको छ। आउँदो सातादेखि विकास बैंक र लघुवित्तको उपसुचक अलग अलग राखेर कारोबार गरिने नेप्सेले जनाएको छ।
'आउँदो साताबाट लघुबीत्त र बिकास बैंकको कारोबार अलग अलग उपसूचकबाट हुनेछ' नेप्से प्रबक्ता मुराहरि पराजुलीले भने, 'अहिले आन्तरिक परिक्षण भैरहेको छ।'
नेप्से प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिहं साउद नियुक्त भए लगत्तै असोज २९ गते विकास बैंक र लघुवित्तलाई अलग अलग उपसमूहमा राख्ने निर्णय भएको थियो।
दुवै बिल्कुलै फरक पाटो भए पनि एउटै उपसमूहमा राख्दा लगानीकर्ता अन्यौलमा परेकाले विकास बैंक र लघुवित्तलाई अलग अलग उपसमूहमा राख्ने निर्णय भएको सीईओ साउदको भनाई छ। 'विकास बैंक र लघुवित्त फरक पाटो भए पनि एउटै उपसमुहमा राख्दा बजार नै प्रभावित हुने अवस्था आएकाले अलग अलग समूहमा राख्ने निर्णय भएको हो' उनले भने।
यस्तो छ तथ्यांक
नेप्सेको स्थापना हुँदा ६ वटा मात्र उपसमुह थिए। पछी २०५८ सालमा यी ६ वटा उपसूचकलाई पनि टुक्राएर ९ वटा बनाइएको थियो। कम्पनीको प्रकृति अनुसार १३ वटा उपसूचकमा सुचिकृत कम्पनीहरुको कारोबार मापन हुँदै आएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ साउन मसान्तसम्ममा १९९ रहेको छ। हाल नेप्सेमा १९६ कम्पनी सूचीकृत छन्।
२०७३ साउन मसान्तमा यस्तो संख्या २२६ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो ।
सूचीकृत कम्पनीहरूमध्ये १५४ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १६ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन्।पछिल्लो तथ्यांक अनुसार नेप्सेमा ३८ विकास बैंक र ३३ वटा लघुवित्त गरी बिकास बैक समूहमा कुल ७१ वटा रहेका छन।