सानिमा बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। आम्दानीमा सामान्य प्रगति देखिएपनि चुक्ता पुंजी वृद्धिको प्रभाब सानिमा बैंकमा पनि देखिएको छ।
गत आर्थिक बर्षको यस अवधिमा बैंकको खुद मुनाफा २७ करोड १६ लाख हुँदा उसको प्रति सेयर आम्दानि २० रुपैयाँ ५८ पैसा थियो। यस अवधिमा भने बैंकको कमाई २७ प्रतिशतले वृद्धि भई ३४ करोड ४४ लाख पुगेको छ। तर प्रति सेयर आम्दानीको सन्तुलन भने भत्किएको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानि १७ रुपैयाँ २२ पैसामा सिमित भएको छ।
खराब कर्जा न्यून बिन्दुमा राखेर लगानीकर्ताको प्रशंसा बटुलेको सानिमा बैंकको निष्क्रिय कर्जा शुन्य दशमलब ०५ प्रतिशतबाट बढेर शुन्य दशमलब १४ प्रतिशतमा पुगेको छ।
पुंजी वृद्धिको अनुपातमा कमाई बढाउन लगानी प्रवाहलाई व्यापक बनाएको छ। बैंकले राष्ट्र बैंकले तोकेको कर्जा निक्षेप अनुपातको ८० प्रतिशतको सिलिंग पुरा गरेको छ। उसलाई लगानी बढाउन ठुलो मेहनत गर्नु पर्ने देखिन्छ। यस अवधिमा बैंकको सीसीडी रेसियो ७९ दशमलब १७ प्रतिशत छ। गत आर्थिक बर्षको यस अवधिमा यो दर ७७ दशमलब ६३ प्रतिशत थियो।
खराब कर्जा अनुपात बढ्नुले राम्रो संकेत नगरेपनि बैंकले बैंकिङ कारोबार बिस्तार गरि आम्दानी बढाउन धेरै मेहनत गरेको देखिन्छ। यस अवधिमा बैंकले ६४ अर्ब १३ करोड निक्षेप संकलन गरि ५७ अर्ब २८ करोड कर्जा तथा लगानी प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ४८ अर्ब ६९ करोड निक्षेप संकलन गरि ५१ अर्ब २६ करोड मात्र कर्जा प्रवाह गरेको थियो।
बैंकले खुद ब्याज आम्दानि तथा संचालन मुनाफामा समेत ११ प्रतिशत बढीले प्रगति हासिल गरेको छ। यस अवधिमा बैंकले ५९ करोड खूद ब्याज आम्दानि गरेको छ भने ४९ करोड ८४ लाख संचालन मुनाफा गरेको छ।
गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर वितरण गरेको सानिमा बैंकको चुक्ता पुंजी यस अवधिमा ८ अर्ब छ। बैंकको चुक्ता पुंजी करिब ५२ प्रतिशतले बढ्दा जगेडा कोष पनि ३८ प्रतिशतले बढेर १ अर्ब ४० करोड पुगेको छ। यस अवधिमा बैंकको नेटवर्थ प्रति सेयर ११७ रुपैयाँ ५५ पैसा, मुल्य आम्दानिको अनुपात २० दशमलब ७६ गुणा छ। समग्रमा सानिमा बैंकको पहिलो त्रैमासको प्रगति सन्तोषजनक र भविष्यमा राम्रै गर्छ भन्ने आशा गर्न सकिने अवस्था छ।