तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
नियुक्ति सम्बन्धि सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध संचालक मोहनकुमार डाँगी र क्यापिटलको तर्फबाट महाप्रवन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे। कम्पनीले तेह्रथुमका आयोजना प्रभावितहरुलाई ४ लाख कित्ता र सर्वसाधारणमा ८ लाख कित्ता सेयर बिक्रि गर्न लागेको हो।
यस अवधिमा कम्पनीको अधिकृत पुंजी ४० करोड, जारी पुंजी ४० करोड र चुक्ता पुंजी २८ करोड छ। स्थानीय तथा सर्वसाधारणलाई आइपीओ बाँडफाँड तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्नेछ।
कम्पनीले नेपाल बिद्युत प्राधिकरणसंग २०७३ कात्तिकमा गरेको बिद्युत खरिद बिक्रि सम्झौता अनुसार २०७६ पुष १ गते बिद्युत उत्पादन गर्नुपर्नेछ। तर कम्पनीले सम्झौतामा तोकिएको भन्दा ६ महिना अगाडी नै बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। यस आयोजनामा माछापुच्छ्रे बैकको अगुवाईमा नेपाल बंगलादेश बैंक र जनता बैकको क्रमश: ४० करोड, ३० करोड र ३० करोड लगानी रहेको छ।