आँधिखोला लघुवित्तले साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
शेयर निष्काशनको लागि कम्पनीले एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक चयन गरेको छ । शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा आँधिखोला लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।
आँधिखोला लघुवित्त चुक्ता पूँजी ६ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड हुनेछ । कम्पनीको अधिकृत पूँजी १५ करोड रहेको छ ।
२०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस कम्पनीले २०७३ फागुन १ गतेदेखि कारोवार सुरु गरेको हो । भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले स्याङजा सहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँ कार्यक्षेत्र विस्तार गरेको छ ।