सेयरबजारमा लगानीको अवधिलाई आधार मानेर पुँजीगत लाभकर लगाउनुपर्ने प्रस्ताब पेश भएको छ। अर्थसमितिले आगामी आर्थिक बर्षको बजेट निर्माणको लागि सल्लाह तथा सुझाब संकलन गर्न राखेको कार्यक्रममा एक बर्ष भन्दा बढी अवधिका लागि लगानी गर्नेलाई कम पुँजीगत लाभकर लिनलाई सुझाब दिइएको हो।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का अध्यक्ष जगन्नाथ उपाध्यायले संघीय संसदको अर्थसमितिलाई मौखिक सुझाब दिने क्रममा अन्तराष्ट्रिय जगतमा सेयर कारोबारको अवधिको आधारमा फरक फरक दरमा पुंजीगत लाभकर लिने अभ्यास रहेको बताए । आगामी बजेट मार्फत नै एक बर्षभित्र सेयर किनबेच गर्ने कारोबारीलाई बढी र एक बर्षभन्दा बढी अवधिमा सेयर किनबेच गर्नेलाई थोरै दरमा पुँजीगत लाभकर लिने व्यवस्था गर्नलाई उपाध्यायले सुझाब दिए।
त्यस्तै चार्टड एकाउन्टेन्ट अध्ययन सकेका तर डिग्री हासिल नगरेका करिब ५ हजार जनशक्तीको सदुपयोग हुने गरि राज्यले बिशेष नीति लिनुपर्ने उपाध्यायले बताए। संस्थान तथा बिभिन्न निकायमा बित्त व्यवस्थापकका रुपमा काम गर्नलाई अनिवार्य रुपमा एटिको व्यवस्था हुनुपर्ने नीति बजेट मार्फत ल्याएर अहिले बजारमा भएका करिब ५ हजार डिग्री नभएका चार्टड एकाउन्टेन्टको उचित सदुपयोग गर्नलाई उपाध्यायले सुझाब दिए। लोकसेवाले लिने परीक्षामानै यस किसिमको व्यवस्था गर्न उनले सुझाब दिए।
चार्टड एकाउन्टेन्ट बन्नलाई क्याप १, क्याप २ र क्याप ३ पास गर्नुपर्ने व्यवस्था छ। क्याप १ र क्याप २ पास गर्न केहि सहज भएपनि क्याप ३ अन्तर्गत ३ बर्ष तालिम गरेर पनि डिग्री नपाएका चार्टड एकाउन्टेन्टको संख्या ठुलो छ।
पहिलो पटक एनएफआरएस लागू गर्ने संस्थाहरुलाई बिगतको बर्षको नाफामा कर नलगाउने नीति लिनलाई समेत उपाध्यायले सुझाब दिएका छन। एनएफआरएस लागू भएपश्चात बिगतको बर्षको नाफालाई पनि समायोजन गर्दा संस्थाहरुमा करको जिम्मेवारी बढेको जानकारी गराउदै उपाध्यायले पहिलो पटक एनएफआरएस लागू गर्नेलाई बिगतको नाफामा कर छुट गराउने नीति लिनलाई सुझाब दिएका छन।