ब्रोकरको गेटमा ताल्चा लगाएपनि रोकिंदैन शेयर कारोबार, जहाँबाट पनि हुन्छ डिएनए लगइन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 10:09:54 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ताहरुले ब्रोकर हाउसमा तालाबन्दी गरेपनि शेयर कारोबार भने निर्वाध रुपमा चल्ने छ । अनलाइन मार्फत शेयर कारोबार हुने भएकोले शेयर कारोबारमा भने समस्या नहुने ब्रोकरहरुले बताएका छन् ।

कारोबार सुचारु गराउनको लागि ब्रोकरहरुले आफ्नो डिएनए लगइन गर्नु पर्ने र सो लगइन जहाँ बाट पनि गर्न सकिने व्यवस्था रहेको नेपाल स्टक एक्सचेन्ज नेप्सेका आइटी शाखाका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार कारोबार खुल्ने दिनमा स्वत सिस्टम खुल्छ, ब्रोकरले डिएनई लगइन जहाँबाट पनि गर्न सक्ने व्यवस्था छ, त्यसको लागि ब्रोकर कार्यालय मै पुग्नु पर्दैन । ब्रोकरले डिएनए लगइन गरेपछि सो ब्रोकरमा आवद्द शेयर लगानीकर्ताले शेयर कारोबार गर्न सक्ने छन् । 

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले पनि ९९ प्रतिशत कारोबार अनलाइनबाट हुने भएकोले कारोबार नरोकिने बताए । उनले पनि डिएनए लगइनको लागि मल्टिपल अप्सन रहेकोले जहाँ बाट पनि डिएनए लगइन गरेर कारोबार गर्न सकिने बताए ।   

अर्का एक ब्रोकरका अनुसार कारोबार नरोकिने भए पनि ब्रोकर कार्यालयका कर्मचारीहरु कार्यालय प्रवेश गर्न नपाउंदा शेयरको राफसाफ प्रक्रिया भने रोकिने छ। उनका अनुसार अनलाइन मार्फत कारोबार हुने भएकोले कारोबार नरोकिने भएपनि त्यसपछिको प्रक्रियामा भने असर गर्छ ।

तिलक कोइरालाको नेतृत्वमा आन्दोलन गरिरहेको शेयर लगानीकर्ताको समुहले आइतबार बिहानै देखि ब्रोकर हाउसमा तालाबन्दी गरेका छन् ।  कार्यालय समय पनि सुरु नहुँदै उनीहरुले विभिन्न ब्रोकर हाउसमा आफ्नो आन्दोलनको पम्प्लेट टास्दै ब्रोकर हाउसहरुमा बाहिर बाट नै ताल्चा लगाएका छन् । 

उनीहरुले ब्रोकर कार्यालयमा 'टिएमएस बन्द कार्यकम जारी छ, खोल्ने प्रयास भएमा सम्बन्धित पक्षले हुने हानी बेहोर्नु पर्ने छ' लेखिएको पर्चा टासेका छन् ।  उनीहरुले टिएमएस बन्द गराउन तथा ताल्चा लगाउन टोली नै परिचालन गरेका गरेका छन्  । 

आन्दोलनको नेतृत्व गरिरहेका तिलक कोइरालाले ब्रोकरको मुल गेटमा ताला लगाउन, ताला खोलेर कसैलाई पनि भित्र छिर्न नदिन र तोकिएको पर्चा टास्ने अनि दिनभर सोही गेट आसपास बसेर निरीक्षण गर्न निर्देशन दिएका छन्। ब्रोकरका संचालक वा कर्मचारी कार्यालय भित्र प्रवेश गर्न खोजेमा थप लगानीकर्ताहरुलाई बोलाउन कोइरालाले निर्देशन दिएका छन् । बाहिरी जिल्लामा रहेका लगानीकर्ता साथीहरुले आफ्नै जिल्लाका ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरि जानकारी दिन उनले आग्रह गरेका छन् ।

पूँजी बजारमारा कर नीति खारेज गर्नु पर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उता ब्रोकरहरुले भने नेपाल सरकारसँग सेयर कारोबारको सेवा दिंदै आएका सेयर ब्रोकरहरुले सुरक्षाको माग गरेका छन्। सेयर लगानीकर्ताको धम्की र चेतावनीका कारण निर्वाध रुपमा सेयर कारोबारको सेवा दिन असुरक्षा महसुस भएको भन्दै सेयर ब्रोकरहरुले सुरक्षाको माग गरेका छन्। 

सेयर ब्रोकरहरुको छाता संगठन 'स्टक ब्रोकर एसोसिएसन अफ नेपाल'  'एसबिएएन' ले विज्ञप्ती जारी गरेर सुरक्षाको माग गरेको हो। नेपाल सरकारले हालै ल्याएको आर्थिक वर्ष २०८० को आर्थिक विधेयकमा उल्लेख केहि व्यवस्थालाई लिएर आन्दोलित लगानीकर्ताबाट धम्की तथा चेतावनी आएको बिज्ञप्तीमा उल्लेख छ। 

आन्दोलित लगानीकर्ताका समुहले सेयर ब्रोकरको कार्यालयमै पुगेर आफ्ना माग पुरा नभएसम्मको लागि आइतबारदेखि कारोबार बन्द गर्नलाई चेतावनी दिएकोले आफुहरुले निर्वाध रुपमा सेयर दिनलाई सुरक्षा जोखिम देखेको सेयर ब्रोकरको भनाई छ। 

"लगानीकर्ताबाट आएको धम्कि तथा चेतावनीका कारण आगामि दिनहरुमा निर्वाध रुपमा कार्यलय खोलि व्यवसाय र कारोबार संचालन गर्न व्यवसायीहरुले असहज तथा कर्मचारीहरुले असुरक्षित महशुस गरेको प्रति सम्पूर्ण सरोकारवालाहरुलाई ध्यानाकार्षण गराउन चाहान्छौं" विज्ञप्तीमा भनिएको छ।  

सेयर ब्रोकर संघले आगामी दिनमा निर्वाध रुपमा कार्यालय र कारोबार संचालन गर्न वातावरण मिलाई दिनलाई नेपाल सरकार, अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायतका सरोकारवालालाई गुहारेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved