मेरोशेयरमा आज बिहानैदेखि समस्या आएको छ। सिडीएस एण्ड क्लियारिंङका अनुसार प्राविधिक समस्या आएको कारण आज मेरोशेयर नखुल्ने वा ढिलो खुल्ने भईरहेको छ ।
सिडीएसका प्रवक्ता सुरेश न्यौपानेले मेरोशेयरमा अप्टीमाइजेसनको कार्य गर्ने क्रममा समस्या देखिएको हो । केहि बग देखिएको र केहि नयाँ फिचर्स अपडेट गर्न खोज्दा कोडमा देखिएको समस्याको कारण मेरो शेयर नखुलेको उनले बताए । उनका अनुसार समस्या समाधानको प्रयास भईरहेको र अबको १ घण्टा भित्रमा मेरोशेयर पूर्ण रुपमा चल्ने उनले बताए ।
मेरोशेयर नखुल्दा लगानीकर्ताले आजदेखि बिक्री खुला भएको सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ, र हिमालयन क्यापिटलको ८०-२० म्युचुअल फण्डमा आवेदन दिन पाएका छैनन् । आज बिहान ११:४५ सम्म सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा एउटा मात्र आवेदन परेको थियो । साथै अहिले बिक्री खुला भईरहेका अपि पावरको हकप्रद, र एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिन पनि समस्या भएको छ । आरक्षित समुह अन्तर्गतको मनकामना इन्जिनियरिंगको आईपीओ, चिर्खुवा हाइड्रोको आईपीओ, सोनापुर सिमेन्टको आईपीओ लगायतको निष्काशनमा आवेदन दिन पनि समस्या भएको छ ।
मेरोशेयर नचल्दा लगानीकर्ताले आफुले बिक्री गरेको शेयरको डिआईएस गरि शेयर ट्रान्सफर गर्न समेत पाएका छैनन् ।