![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
पोखराको लेकसाईडमा पाँच तारे होटल बनाईरहेको बाराही सेदी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
सम्झौता–पत्रमा बाराही सेदी होटल लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक बिप्लब पौडेल तथा धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्।
कम्पनीको जारी पूँजी रु. १ अर्व १६ करोड रहेकोमा कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात रु. ११ करोड ६० लाख बराबरको ११ लाख ६० हजार कित्ताको शेयर जारी गर्ने तयारी गरेको हो । नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पुरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने कार्यकारी सञ्चालक विप्लव पौडेलले बताए ।
हाल करिब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भै सकेको उक्त होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भैरहेको उनले बताए। होटलमा १० वटा प्रिसिडेन्सियल स्विट सहित १५० कोठा र ११ वटा सर्भिस हाउस रहनेछन् । पोखराको लेकसाइड मै पाँच तारे होटलको माग बढ्दै गएकाले क्यासिनोसहितको सुविधा सम्पन्न होटल बनाउन लागिएको उनले बताए । एक हजार २ सय क्षमताको हल समेत रहने यो होटलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायतका आकर्षण हुनेछन् ।
विगत ३० वर्षदेखि पर्यटन व्यवसायमा संलग्न बाराही ग्रुपले यस बाराही सेदीको अलावा पोखराकै लेकसाईड होटल बाराही, काठमाण्डौंको ठमेलमा होटल बाराही काठमाण्डौ, चितवनको मेघौलीमा बाराही जंगल लज सञ्चालन गरिरहेको छ । बाराही ग्रुपले होटल आबास पोखरा, सराङकोट माउन्टेन लजका अलावा लेकसाईडमा द ब्यञ्जन रेष्टुरेन्ट र खपौदीमा द बीच रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेकोछ । त्यस्तै पोखरामा आउने पर्यटकहरुलाई पोखरा भ्याली र हिमाली भेगमा हवाई टुर गराउन पोखरा अल्ट्रालाइट पनि बाराही ग्रुपकै नेतृत्वमा सञ्चालन भैरहेको छ ।