
नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेपाल धितोपत्र बोर्डले सोधेको स्पष्टिकरणको जवाफ दिएको छ। नेप्सेको असोज १८ गते बसेको संचालक समितिको बैठकले बोर्डले सोधेको स्पष्टिकरणको जवाफ पठाउने निर्णय गरेको हो ।
सोहि बमोजिम नेप्सेले असोज १९ गते बोर्डलाई स्पष्टिकरणको जवाफ पठाएको हो ।
धितोपत्र बोर्डको असोज २ गते बसेको संचालक समितिको बैठकले नेप्सेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । नेप्सेमा असोज ७ गते आइतबार 'अति गोप्य' र 'जरुरी' लेखिएको खाममा बोर्डबाट स्पष्टिकरण पत्र आएको थियो । तर नेप्सेका सीइओ देश बाहिर रहेकोले नेप्सेले २ सातापछि मात्र स्पष्टिकरणको जवाफ दिएको हो।
के विषयमा बोर्डले सोधेको हो स्पष्टिकरण ?
बोर्डले नेप्सेलाई लगानीकर्ताको सेयर कारोबारसम्बन्धी व्यक्तिगत विवरण वाइको कम्पनीको पहुँचमा पुग्न दिएकोबारे स्पष्टिकरण सोधेको बोर्ड स्रोतले जनाएको छ । वाईको मार्फत एउटा निजी कम्पनीलाई दोस्रो बजारको सबै तथ्यांकमा पहुँच भएको बारे बोर्डले स्पष्टिकरण सोधेको बताईएको छ। हाल ब्रोकरहरुले प्रयोग गर्ने कारोबार व्यवस्थापक प्रणाली (टिएमएस) वाईकोले नै बनाएको र शेयर कारोबारको लागि प्रयोग गरिने नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) पनि वाईकोले बनाएको हो। दुवैको संचालन पनि वाईकोले नै गर्दै आएको छ । यस्तो अवस्थामा शेयर लगानीकर्ताको सम्पूर्ण विवरण वाईको नामको निजि कम्पनीको हातमा पुगेको भन्दै बोर्डले नेप्सेलाई स्पष्टिकरण सोधेको बताईएको छ ।
नेप्सेले के दियो जवाफ ?
स्रोतका अनुसार नेप्सेले टिएमएस र नट्सको संचालन कानुन बमोजिम नै भईरहेको जवाफ बोर्डलाई दिएको छ। बाहिर आएका विषय सत्य नभएको भन्दै नेप्सेले सबै लगानीकर्ताको विवरण सुरक्षित रहेको र कानुन अनुसार नै काम भईरहेको जवाफ दिएको स्रोतले बताएको छ।