
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको शेयर कारोबार सुचारु भएको छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भई कारोबार सुरु भएको हो ।
कम्पनीको पहिलो कारोबार प्रति कित्ता २८८.४ रुपैयाँमा भएको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९६.१४ रुपैयाँ देखि २८८.४२ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो। यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेकोमा उच्चतम विन्दुबाट नै कारोबार सुरु भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । कम्पनीको MMKJL सिम्बलबाट कारोबार भएको हो ।तिहार विदा अगाडीको बिहिबार कम्पनीको १ करोड कित्ता शेयर सुचिकृत भएको थियो ।
यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०९० साउन १५ बाट ब्यापारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ। आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ । प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब पुगेको छ ।