धितोपत्र बोर्डको भावी अध्यक्षमा ९ अनुहारको चर्चा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2023 | 08:25:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको भावी अध्यक्षको लागि ९ अनुहारको चर्चा सुरु भएको छ। २१ महिनाको लागि धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्न आएका  रमेश हमालको कार्यकाल यहि पुषमा सकिने भएपछि भावी अध्यक्षमा नयाँ पात्रहरुको चर्चा सुरु भएको हो।  

बिजपाटीलाई प्राप्त सूचना तथा जानकारीअनुसार भावी अध्यक्षको लागि नेपाल राष्ट्र बैकका पूर्व डेपुटी गभर्नरदेखि बहालवाला कार्यकारी निर्देशकसम्मको चर्चा रहेको छ। तर चर्चामा आएका केहि व्यक्तिले भने बजारमा चर्चा गरीएपनि आफुले कुनै प्रयास नगरेको बताएका छन्। 

यसरी चर्चामा आउनेमा राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठ अग्रपंक्तिमा रहेका छन्। सत्ता नेतृत्वमा रहेको नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष समेत रहेका  उपप्रधान तथा गृहमन्त्री नारायण काजि श्रेष्ठले यहि माहोल बनाउनलाई आफ्नै घरमा भीआईपी  'डिनर मिटिंङ' समेत राखेको बजार चर्चा छ। 

केहि समय अघि सरकारमा मन्त्रीहरुको हेरफेर हुने चर्चा भएको थियो । त्यसो हुँदा कांग्रेसले गृह पाउने र माओवादीले अर्थ मन्त्रालयले पाउने चर्चा भएको थियो । यदी त्यसो भएमा माओवादीको भागमा अर्थात् मन्त्रालयले पर्ने र माओवादीले शिवराज श्रेष्ठलाई अघि सार्ने चर्चा बजारमा रहेको छ । माओवादीले अर्थ मन्त्रालयले पाएमा  नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई पनि दाबेदार मध्येका एक देखिएका छन् । 

त्यस्तै भावी अध्यक्षको रुपमा धितोपत्र बोर्डकै कार्यकारी निर्देशकहरु डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र  कृष्ण राज पोखरेलको नाम पनि चर्चामा छ । डा. अधिकारीले यस अघि पनि ३ पटकसम्म बोर्डको अध्यक्षको लागि आवेदन दिएका थिए । 

 नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृतहरु चन्द्र सिंह साउद र सिताराम थपलियाको नाम पनि चर्चामा रहेको छ।  बोर्ड कै पूर्व कार्यकारी निर्देशक निरज गिरीको पनि केही चर्चा सुनिन थाले पनि उनले भने आफु इच्छुक नरहेको आफ्ना निकटस्थहरूलाई बताउने गरेका छन् । हाल उनी एक स्टक डिलरको संचालक छन् । 

यद्यपि बहालवाला अध्यक्ष रमेश हमाल नै दोहोरिने सम्भावना पनि रहेको बजार चर्चा छ। त्यसो त भावी अध्यक्षको रुपमा चर्चामा आएका केहि पात्रहरु पनि धितोपत्र बोर्डको अध्यक्षमा हमाल को निरन्तरता हुनुपर्ने धारणा व्यक्त गरेका छन्। बजारमा विभिन्न किसिमले आलोचना भएपनि यो २१ महिनामा धितोपत्र बोर्डको इतिहासमा धेरै कामहरु भएकाले केहि काम सम्पन्न गर्नलाई पनि हमालको निरन्तरता आवश्यक भएको भावी अध्यक्षको लागि चर्चा गरिएका एक जनाले बिजपाटीलाई बताए। हमालको नियुक्तिपछि बोर्डले आइपीओ निष्काशनमा विगतमा तजबिजमा हुने निर्णयलाई मापदण्ड बनाएको, भेन्चर क्यापिटलको लाईसेन्स दिएको, मापदण्ड पुर्याएर आउनेलाई ब्रोकर लाइसेन्स दिएको, बुक बिल्डिंङ माध्यमबाट आइपीओको ब्रेक थ्रु गरेको, जस्ता महत्त्वपूर्ण कामहरु भएकाले उनकै निरन्तरता हुनुपर्ने ति व्यक्तिको भनाई छ।

तर हमालको कार्यकालको अन्त्यमा भने उनी केहि विवादित हुन पुगेका छन् । नियम विपरित बीमा कम्पनीलाई प्रिमियममा शेयर निष्काशन गर्न अनुमति दिएको भन्दै उनी विरुद्द अख्तियारमा उजुरी परेको छ भने आज मात्र सर्वोच्च अदालतमा पनि यसबारेको रिट परेको छ। यहि विवादको कारण उनको निरन्तरता कठिन हुने कतिपयको आँकलन रहेको छ । 

हाल नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिने काम र कमोडिटी एक्सच्नेजको लाईसेन्स दिने काम बाँकी रहेको छ। नयाँ स्टक एक्सचेन्जको लागि ३ समुहले आवेदन दिएका छन् । ति ३ वटै समुहले लाईसेन्स आफुले पाउनको लागि सबै शक्ति प्रयोग गरेर आफु अनुकुलको पात्रको लागि लबिङ थालिसकेको स्रोतको दाबी छ। उनीहरुले ठूलै सेटिङ गर्ने भएको र उनीहरुलेआफ्नो पात्रलाई एक्स्पोज पनि धेरै नगर्ने भएकोले कुन समुहले कसलाई बोकेको छ भन्ने विषय आवेदन दिएपछि मात्र खुल्ने स्रोत बताउछ । 

भिष्म ढुंगाना धितोपत्र बोर्डको अध्यक्षबाट निलम्बनमा परेपछि नेपाल सरकारले बाँकी रहेको अवधिको लागि भन्दै हमाललाई एक्काइस महिनाको लागि धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। उनको कार्यकाल आगामी पुस २३ गते सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved