पुनर्संरचनाको लागि फेरी तात्यो नेप्से: सर्वसाधारणलाई प्रिमियममा आईपीओ, पुनर्बीमालाई पनि शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 10:34:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेप्सेको पुनर्संरचनाको लागि फेरी अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । नेप्सेको मङ्सिर २८ गते बसेको संचालक समितिको बैठकले निर्णय गरेर नेप्सेको पुनर्संरचनाको लागि मन्त्रालयमा प्रस्ताव गरेको हो ।

नयाँ स्टक एक्सचेन्ज आउने भएपछि अहिलेकै अवस्थामा नेप्से धरासायी हुने भन्दै नेप्सेको पुनर्संरचनाको माग उठ्दै आएको छ । सोहि अनुसार नेप्सेमा अध्यक्षको रुपमा शोभाकान्त पौडेलको नियुक्ति भएपछि पुनर्संरचनाको लागि मन्त्रालयमा प्रस्ताव गरिएको हो ।

जस अनुसार नेप्सेले ३० प्रतिशत शेयर सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव गरिएको छ । सर्वसाधारण समुह नै नेप्सेको सबैभन्दा ठूलो शेयरधनी समुहको रुपमा रहने छ  ।

यस अघि अर्थ मन्त्रालयले काठमाडौँ विश्वविद्यालयलाई कन्सल्टेन्ट नियुक्त गरेर नेप्सेको पुनर्संरचनाको लागि अध्ययन प्रतिवेदन पेश गर्ने जिम्मा दिएको थियो  । त्यस प्रतिवेदनमा पनि ३० प्रतिशत शेयर सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने सकिने प्रस्ताव गरेको थियो  । अहिले नेप्सेले गरेको प्रस्तावमा पनि सर्वसाधारणलाई शेयर निष्काशन गरेर नेप्से आफै सुचिकृत कम्पनी बन्ने प्रस्ताव गरिएको छ  ।

यस्तो नेप्सेमा नेपाल राष्ट्र बैंकको शेयर ३.१७ प्रतिशतमा सिमित गर्ने र राष्ट्रिय वाणिज्य बैंकको शेयर ३.७४ प्रतिशतमा सिमित गर्ने प्रस्ताव गरिएको छ  । नेप्सेको ३६ प्रतिशत शेयर पुनर्बीमा कम्पनी, जीवन तथा निर्जीवन कम्पनी, वाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंक, सरकारी स्वामित्वका संस्थानलाई दिन प्रस्ताव गरिएको छ । शेयर संरचना संशोधन गरी उपयुक्त शेयर विदेशी स्टक एक्सचेन्जलाई दिन सकिने गरि नेप्सेले प्रस्ताव पेश गरेको छ । 

हाल नेप्सेको चुक्ता पुंजी १ अर्ब रहेको छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लागि ३ अर्ब पुंजी तोकेको छ । नेप्सेलाई भने ३ अर्ब पुंजी पुर्याउन अनिवार्य छैन ।  तर पनि नेप्सेले पुनर्संरचना प्रस्ताव पठाउँदा ३ अर्ब नै पुंजी कायम हुने गरि प्रस्ताव पठाएको छ । 

यस्तो छ नेप्सेले प्रस्ताव गरेको शेयर संरचना: (चुक्ता पुंजी ३ अर्ब) 

सर्वसाधारण : ३० प्रतिशत

नेपाल सरकार: १९.५५ प्रतिशत 

नेपाल राष्ट्र बैंक: ३.१७ प्रतिशत 

राष्ट्रिय वाणिज्य बैंक: ३.७४ प्रतिशत 

कर्मचारी संचय कोष : ३.३३ प्रतिशत 

लक्ष्मी बैंक: १.६७ प्रतिशत 

प्रभु बैंक : १.६७ प्रतिशत 

अन्य संस्थापकहरु: ०.२ प्रतिशत 

पुनर्बीमा कम्पनी, जीवन तथा निर्जीवन कम्पनी: १३.३३ प्रतिशत 

वाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंक :१३.३३ प्रतिशत 

सरकारी स्वामित्वका संस्थान :१०.०० प्रतिशत 


यस्तो छ हालको शेयर संरचना:  (चुक्ता पुंजी १ अर्ब) 

नेपाल सरकार : ५८.६६ प्रतिशत 

राष्ट्रिय वाणिज्य बैंक : ११.२४ प्रतिशत 

नेपाल राष्ट्र बैंक : ९.५ प्रतिशत 

कर्मचारी संचय कोष : १० प्रतिशत 

लक्ष्मी बैंक : ५ प्रतिशत 

प्रभु बैंक : ५ प्रतिशत 

अन्य : ०.६० प्रतिशत  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved