मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि रुकुमको एक गाउँपालिकाले गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ । सिस्ने गाउँपालिकाले सबै स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन आउनेलाई नुन र सुत्केरी हुन आउनेलाई तेल उपहार दिने गरेको हो ।
सरकारले घोषणा गरेको आमा सुरुक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यो कार्यक्रम शुरु गरिएको सिस्ने गाउँपालिकाका स्वास्थ्य संयोजक धनबहादुर केसीले बताए । सिस्ने गाउँपालिकाको तेस्रो गाउँसभाबाट पारित गरिएको नीतिलाई गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ । नुन र तेल उपहार पाउनका लागि एक गर्भवतीले कम्तीमा चार पटक अनिवार्य गर्भवती जाँच गराउनुपर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने लगायतका मापदण्ड पूरा गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
गर्भवती महिलाले एक पटक गर्भ जाँच गराएमा एक पोका, दुई पटक गराएमा दुई पोका र चार पटकसम्म गराएमा चार पोका आयोडीनयुक्त नुन उपहार दिने गरेको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिए । आयोडीनको कमिले धेरैमा समस्या देखिएकोले गर्भ जाँच गर्न स्वास्थ्यचौकीमा आउने हरेक गर्भवती महिलालाई आयोडिनयुक्त नुनको पोका उपहार दिन थालिएको उनले जानकारी दिए।
“गाउँपालिकाको तेस्रो गाउँसभाले पारित गरेको नीतिलाई गाउँ कार्यपालिकाको बैठकले अनुमोदन गरेसँगै गर्भ जाँच गर्न पुगेकालाई नुन र सुत्केरी हुनेलाई तेल उपहार दिन थालिएको हो”, अध्यक्ष बरालले भने, “आयोडिनयुक्त नुन उपहार स्वरुप दिँदा सानो पोका तथा थोरै देखिए पनि यसले विभिन्न प्रकारका रोगबाट बचाउने र वृद्धि विकासमा पनि सहयोग पुग्ने भएकाले यो निर्णय कार्यान्वयनमा ल्याएका छौँ ।” उनका अनुसार प्रत्येक पटक गर्भवतीले गर्भ जाँच गरेपछि एक पोका आयोडिनयुक्त नुनको पोका र सुत्केरी भएपछि एक लिटर तोरीको तेल पाउनेछन् ।
गाउँपालिकाले आफ्नै स्रोतबाट रकम छुट्याएर सुत्केरीलाई प्रोत्साहनभत्ता पनि दिने गरेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने कुनै पनि महिलालाई प्रोत्साहन वापत १०० र यातायात खर्च वापत ५०० गरी जम्मा ६०० दिने गरेको छ ।
सङ्घीय सरकारले दिने प्रोत्साहन र यातायात खर्चबाहेक सुत्केरीलाई छुट्टै प्रोत्साहन र यातायात खर्च दिने नीति गाउँपालिकाले ल्याएको हो । घरमै सुत्केरी हुने प्रचलनको अन्त्य गर्न र आमा तथा बच्चाको स्वास्थ्य सुरक्षाका लागि यो कार्यक्रम ल्याइएको अध्यक्ष बरालको भनाई छ ।
आठ वडा रहेको सिस्ने गाउँपालिकामा तीन प्रसूतिगृह छन् भने सबै वडामा स्वास्थ्य संस्था छन् । अहिले गाउँपालिकाको विभिन्न पाँच ठाउँमा सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरिएको छ भने बाँकी अन्य ठाउँमा पनि स्थापना गर्ने तयारी गरिराखेको गाउपलिका प्रवक्ता जीबन केसीले जानकारी दिए । गाउँपालिकाका विकट गाउँमा पनि सामुदायिक स्वास्थ्य एकाइको स्थापना गरी स्वास्थ्य सेवामा सहजता कायम गर्न प्रयास गरिएको उनको भनाइ छ ।