प्रतिबन्धित भारु ५ सय र १ हजार दरका नोट साटिने आशा पलाएको छ। मंगलबार नेपाल आएको रिजर्व बैंक अफ इन्डिया,आरबीआइको टोलिले आज बुधबार नेपाल राष्ट्र बैंकसँग गरेको छलफलमा प्रतिबन्धित नोट साट्ने संकेत दिए पश्चात झिनो आशा पलाएको हो।
बुधबार राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, वैदेशीक मुद्रा विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्म ढुंगानासहित ५ वाणिज्य बैंकका (स्टान्डर्ड चार्टड बैंक, राष्ट्रिय वाणिज्य बैंक, एसबीआई बैंक, एभरेष्ट बैंक र एनआइसी एसिया बैंक) कम्प्लाइन्स विभाग प्रमुखसँगको छलफलमा आरबीआइको टोलिले नेपालको बैंकिङ प्रणालीको सुरक्षाको बारेमा गम्भीर प्रश्न उठाएका छन।
नेपालको बैंकिङ प्रणालीको सुरक्षा बारे उनीहरुले (आरबीआइको टोलि) ले प्रश्न गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बिजपाटीसंगको कुराकानीमा बताएका छन। यद्दपी भारतीय टोलिको शंका र प्रश्नलाई नेपाल राष्ट्र बैंक र बाणिज्य बैंकका प्रतिनिधिहरुले निवारण गरेका छन।
नेपालको बैंकिङ प्रणालीमा साढे ३ करोड भारु रहेको बताईएको छ। यद्दपी भारतसंगको खुला सिमाना र र प्रत्यक्ष सम्बन्ध रहेकाले सर्वसाधारणसंग ठुलो परिमाणमा भारतीय रुपियाँ रहेको अनुमान गरिएको छ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीका अतिरिक्त सर्वसाधारणसँग भएका २५ हजार रुपैयाँसम्मका वैध भारु साट्नका लागि भारतसंग आग्रह गर्दै आएको छ। तर आरबीआइको टोलिले भने सर्वसाधारणलाई २५ हजार सटही दिएमा भारतबाट पनि आउन सक्ने भन्दै चिन्ता ब्यक्त गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत कात्तिकमा ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाएपछी त्यसको नेपालमा समेत प्रत्यक्ष असर परेको छ। बैंकिङ प्रणालीमा रहेको प्रतिबन्धित भारु मात्रै साट्ने भारतको चाहनाले सर्वसाधारणसंग रहेको भारु के हुने भन्ने बारे अझै पनि अन्यौल कायम नै छ।