नेपालबाट लाखौको संख्यामा बैदेशिक रोजगारीको लागि बाहिर जाने गरेका छन् । विदेशमा परिश्रम गरेर उनीहरुले पठाएको रेमिट्यान्स (बिप्रेषण) उत्पादन मुलुक क्षेत्रमा उपयोग हुन् नसकेको बहस पनि चल्दै आएको छ। यहि सिलसिलामा हामीले बैदेशिक रोजगार तथा श्रमविद ड़ा गणेश बहादुर गुरुङसँग कुराकानी गरेका छौ ।
नेपालमा भित्रिने बिप्रेषणको उत्पादन मुलक उपयोग नभएको कुरा स्वीकार गर्नु हुन्छ ?
यो उत्पादनमुलक भन्ने बिषयसंगै म असहमत छु। सबै भन्दा पहिला विदेश पुगेका नेपालीलाई बर्गिकरण गरेर हेरौ। क, ख, ग, घ,ङ, च गरेर बिभाजन गर्ने हो भने क बर्ग नेपालको धनाढ्य बर्ग हो। यो बर्गका मान्छे अमेरिका, अष्ट्रेलिया र बेलायतमा छन। यिनीहरुले नेपालमा बिप्रेषण नै पठाउँदैनन। यो बर्गले भेटे सम्म र सकेसम्म यहाँ भएको पुंजी समेत त्यति लैजान चाहन्छ।
ख बर्गको उच्च मध्यम बर्गपनि विप्रेषणबाट देशलाई माथि उठाउने बर्ग हुँदै होइन। यो बर्ग युरोपका अन्य देशको स्थाई आवास (पी आर) कै लागि जिबन दिन्छ न कि देशका लागि।
यी बाहेक ग बर्ग हङकङ, कोरिया र जापान जाने बर्ग हो। घ बर्ग खाडी र मलेसिया जान्छ। त्यस्तै ङ बर्ग भारत जान्छ अनि च बर्ग गाउँमै बस्छ। देशका लागि कसैले केहि गरेको छ भने ग, घ, ङ र च बर्गका नेपालीले गरेका छन ।
विप्रेषणको उत्पादन मुलक उपयोगसंग तपाईको जवाफ कसरी जोडिन्छ ?
हाम्रा अर्थशास्त्रीहरुले पुर्वाग्रहपूर्ण तथ्यांक निकाल्छन। राज्य तिनैका पछि लागेर गरिबहरुलाई लुछ्ने र धनिहरुलाई पोस्ने नीति बनाउन्छ।
विचरा जसले बिहान सांझ खस्रो सुख्खा खान नपाएर, एकसरो लुगो लाउन नपाएर विदेश जान्छ, खाडी र मलेसियाको चर्को धुप सहन्छ। जापान र कोरियाको भूमिमा श्रम पोख्छ। त्यसले कहाँबाट आफ्नो आम्दानी उत्पादनमा लगाओस ? उसलाई त आधारभूत आवश्यकता पुरा गर्ने फुर्सद नै हुँदैन। अनि उसले कसरी चाउचाउ उद्योग खोलेर चौधरीसंग प्रतिस्पर्धा गरोस ?
अमेरिका, बेलायत र अष्ट्रेलिया जानेले सक्थे होला, तीनलाई देश प्रति बिश्वास नै छैन। तिनले उतै घर गाडी थप्छन। देशका लागि केहि गर्दैनन।
यो सबै भन्दा कम्जोर आर्थिक अवस्था भएका मान्छेले पठाएको विप्रेषणको थोरै मात्रा त बचत हुन्छ नि, त्यसलाई लगानी गर्न सकिदैन ?
'एक थुकी सुकी, सय थुकी नदि' सानो सानो पुँजीलाई एकीकरण गरेर त्यसलाई राज्यले उपयोग गर्न सक्थ्यो। तर हाम्रो राज्यले यतो श्रोतलाई उत्पादनमुलक काममा लगाउन चाहेकै छैन।
अब यो बचतलाई तुलनात्मक लाभका स्किम राज्यले दिनु पर्छ। कुनै परियोजना देखाएर बैदेशिक रोजगारीमा गएकालाई आकर्षित गर्न सकिन्छ।
कसरी सकिएला ?
सुरुवात विदेश जानुभन्दा अगाडीबाट गर्नु पर्छ। ओरिन्टेसन कक्षामा नै उनीहरुलाई घर परिवारलाई खर्च गरेर बचेको पुंजी लगानी गर्न अभिप्रेती गर्न पर्छ।
अहिलेका १२ घण्टाको ओरिन्टेसन कक्षालाई बढाएर ३ महिना बनाउनु पर्छ। यस्ता कक्षामा व्यवसायिक तालिम दिनु पर्छ। उता बाट पठाएको पुंजी लगानी गर्दा नाफाको बातावरण राज्यले बनाइदिनु पर्छ।
लगानीका क्षेत्रहरु के के हुन सक्छन ?
विप्रेषणको उपयोग तुलनात्मक लाभका क्षेत्रमा गर्नु पर्दछ। नेपालमा राज्य ग्यारेन्टेड भएर बैदेशिक रोजगारमा गएकाहरुको लागि मात्रै विप्रेषण क्षेत्र छुट्याएर लगानी गरिनु पर्छ।
यस्तै विदेशमा बसेर सिकेको कामको आधारमा सहुलियत ब्याज दिएर उक्त सीपलाई यहि उपयोग गर्ने बातावरण बनाइदिनु पर्छ। बर्षौ विदेश बसेर आएको श्रमिक परिवारसंग बसेर काम गर्न थाल्ने बातावरण भयो भने व्यवसायिक सोच बढ्दै जान्छ। त्यसपछि त कसैले पनि बिप्रेषणलाई फजुल खर्च भयो भनेर भन्नै पर्दैन।