स्थानीय तह कार्यान्वयनका लागि ७ अर्ब ४४ करोड निकासा, प्रत्येक तहलाई १ करोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2017 | 06:15:02 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार कार्यालय सञ्चालनका लागि सात अर्ब ४४ करोड निकासा गरेको छ ।पुनःसंरचनापछि बनेको सात सय ४४ स्थानीय तह प्रत्येकले रु एक-एक करोड पाउने गरी बीउ पुँजीका रुपमा निकासा गरिएको जानकारी उपप्रधानमन्त्री कृष्णबहादुर महराले बताए । 

अर्थमन्त्री महराका अनुसार स्थानीय तहमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकालाई संस्थागत विकास गर्नका लागि अर्थ मन्त्रालयले निकासा गरेको हो ।

महानगरपालिका सहसचिव, उपमहानगर र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा अधिकृत तहको कर्मचारी काजमा पठाएर साङ्गठानिक पुनःसंरचना पनि आजै गरिएको छ । तहगत र आर्थिक रुपमा पुनःसंरचना सुरु भएको उल्लेख गर्दै उनले वित्तीय संरचनालाई पनि चाँडै अर्थ मन्त्रालयले अन्तिम रुप दिने तयारी गरेको बताए ।

महानगरपालिकादेखि गाउँपालिकासम्म प्रारम्भिक पुँजीका रुपमा मात्र बराबर रकम दिइएको उनको  भनाइ छ । आगामी आवको बजेटमा त्यसलाई अझ स्पष्ट गरिने जनाइएको छ ।

निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले ठूलो रकम माग गरेकाले त्यसलाई पनि बिस्तारै पूरा गर्दै जाने बताउँदै अर्थमन्त्रीले एकै पटक ठूलो रकम जुटाउन सक्ने अवस्था नभए पनि निर्वाचनजस्तो महत्वपूर्ण कार्यका लागि रकम अभाव नहुने स्पष्ट पारे ।


 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved