काठमाडौंस्थित ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परिक्षामा प्रश्नपत्र 'लिक' गरेर चलखेल हुने गरेको खुलाशा भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले यस कार्यमा संलग्न १३ जनालाई शुक्रबार पक्राउ गरेको छ।
काउन्सिलकै कर्मचारीको मिलेमतोमा परिक्षाको अघिल्लो दिन नै प्रश्नपत्र बिद्यार्थीलाई बिक्रि हुने गरेको खुलेको छ। पक्राउ परेका काउन्सिलका एजेन्ट सुरज तामाङको अन्तर्राष्ट्रिय समूहसँग सम्पर्क देखिएको छ। आइइएलटिएस परिक्षामा सामेल बिद्यार्थीसंग मोटो रकम लिएर उनीहरुलाई पास गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
काठमाडौं परिसरका प्रवक्ता एसपी रामदत्त जोशीका अनुसार पक्राउ पर्नेमा विद्यार्थी समेत रहेका छन। पक्राउ भएकाहरुलाई प्रहरीले आइतबार सार्वजनीक गर्ने जोशीले बिजपाटिलाई जानकारी दिएका छन।
पक्राउ पर्नेबाट लिक गरिएको प्रश्न र त्यसवापत लेनदेन भएको पैसा समेत बरामद गरिएको छ। प्रति बिद्यार्थी दुई लाखसम्म लिएर उनिहरुलाई परिक्षाको अघिल्लो दिन नै प्रश्नपत्र वितरण गरिने गरेको खुलेको छ।
शनिबारका लागि तय भएको आइइएलटिएस परीक्षाको प्रश्नपत्र शुक्रबार नै गेस्टहाउसबाट प्रहरीले बरामद गरेको थियो। संसारभर नै ब्रिटिस काउन्सिलको परिक्षा प्रणाली एकै हुने भएकाले अन्य देशका काम गर्ने व्यक्तिसंगको मिलोमतोमा प्रश्नपत्र लिक गरिएको अनुमान गरिएको छ।
प्रश्नपत्र लिक गरि मोटो रकम असुल गर्ने यस धन्धामा बिदेशीहरुको समेतको संलग्नता आशंका गरिएको छ। प्रति विद्याथी दुई लाखसम्म असुल गरिएको खुल्न आएको छ।
प्रश्नपत्र भाइबरमार्फत दिने गरिएको प्रहरीले जनाएको छ। गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसरले शुक्रबार राति अपरेसन चलाई प्रश्न बिक्री गर्ने र खरिद गर्नेहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारि रहेकाले उनीहरुको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। आइतबार सम्पूर्ण जानकारी सहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने बताइएको छ।