रियालिटी शोको नाममा ठगी धन्दा चलाउने गरेको आरोपमा शो संचालक विक्रम अछामी पक्राउ परेका छन। ‘डान्स नेपाल डान्स’ रियालिटी शो सञ्चालन गरी विजेतालाई पुरस्कार नदिई ठगी गर्ने अछामीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो।
शो गराउने नाममा सबैबाट पैसा उठाउने तर शो को बिजेतालाई घोषणा गरिएको पुरस्कार नदि ठगी गर्दै आएको आरोपमा अछामीलाई पक्राउ गरिएको हो। शो को बिजेताहरुको उजुरीको आधारमा प्रहरीले अछामीलाई काठमाडौंको बागबजारबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार अछामीले भि एण्ड भाइरस नामको नृत्य प्रशिक्षण केन्द्र सञ्चालन गरी ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी शो पहिलो सिजन २०६८ जेठ २७ गतेबाट देशभर लिएर थिए। सो सिजनमा ३ सय जना सहभागी थिए। त्यस्तै दोस्रो सिजन भने २०७३ साल साउन २६ गतेबाट सुरू भएको थियो। दोस्रो सिजनमा ४ सय जना सहभागी भएका थिए।
पहिलो सिजनमा प्रथम हुनेलाई ३ लाख रुपैयाँ, दोस्रो सिजनमा प्रथम हुनेलाई २ लाख ५० हजार रुपैयाँ, दोस्रोलाई ५० हजार रुपैयाँ र तेस्रोलाई १८ हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिएको थियो।
तर संचालक अछामी बिजेतालाई घोषणा गरिएको नगद पुरस्कार लगायत केहि पनि नदिई ठगी गरि सम्पर्क बिहिन भएको भन्दै प्रतियोगितामा सहभागीले प्रहरीमा उजुरी गरेका थिए । सोहि उजुरीका आधारमा प्रहरीले अछामीलाई फागुन ३० मा पक्राउ गरि थप अनुसन्धानका लागि महानगर प्रहरी परिसर टेकु काठमाडौं पठाएको छ।
प्रहरीका अनुसार हालसम्म १५ जना पिडितहरु सम्पर्कमा आईसकेका छन। अरु पनि कोहि पिडित भए सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ।
कानुनी सजायको व्यबस्था
मुलुकी ऐन ठगीको महल अनुसार ठगी गर्ने लाई ठगी लिएको विगो कायम भएमा हक पुग्नेलाई बिगो भराई बिगो बमोजिम र बिगो कायम नभएमा रु ५ हजार सम्म जरिवाना र ५ वर्ष सम्म कैद हुने व्यबस्था रहेको छ ।