उर्जामन्त्री बर्षमान पुनले सबैप्रकारका उर्जामा आत्मनिर्भर बनाउने आफ्नो पहिलो प्रथामिकता हुने बताएका छन। आज मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले मागअनुसारको बिजुली उत्पादन गरिने र त्यसपछि प्रयोगको विविधिकरणमा सरकारको प्राथमिकता रहने बताए।
एक शताब्दीसम्म जम्मा एक हजार मेगावाटमात्र बिजुली उत्पादन भएको सन्दर्भ उल्लेख गर्दै मन्त्री पुनले केहि बर्षभित्र हजारौं मेगावाट बिजुली उत्पादन आवश्यक रहेको तर उक्त काम चुनौती मुक्त नभएको बताए। सरकारले १० बर्षमा कम्तिमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अन्तर्गत आन्तरिक र बाह्य स्रोतबाट उत्पादन गर्ने बताए।
छोटो समयमा धेरै बिजुली उत्पादन गर्नका लागि निजि क्षेत्रलाई उदारतापूर्वक स्वागत गर्ने बताउदै उनले विदेशी लगानी पनिलाई पनि प्रोत्साहन गरिने बताए। 'निजि क्षेत्रलाई स्वागत गर्छौं तर ढिलासुस्ती, आयोजना होल्ड गर्नेहरुलाई भने छोड्ने छैनौ' उनले भने।
बिजुली उत्पादन भइसकेपछि त्यसालाई आन्तरिक खपत गर्नको लागि प्रयोगमा विविधिकरणमा पनि सरकारले विशेष कार्ययोजना ल्याउने उनको भनाइ छ।
मन्त्री पुनका अनुसार सडकमा गुड्ने गाडीदेखि खाना पकाउने भान्सासम्म विजुलीको प्रायोगबाट हालको आयातित इन्धन विस्थापित गरिने छ।सबै नेपालीमा उर्जाको पहुँच विस्तार भएपछि उर्जालाई उद्दमशिलतासँग जोडिने र त्यसबाट देशमा आर्थिक गतिविधि विस्तार हुने मन्त्री पुनको विश्वास छ।
त्यस्तै मन्त्री पुनले उर्जा क्षेत्र निकै संबेदनशील भएकोले यस क्षेत्रका बारेमा कलम चलाउने पत्रकारहरुले समाचार लेख्दा बिशेष ध्यान पुर्याउन आग्रह गरे। 'राजनीति समाचार जस्तो फोन उठेन र लेख्यौं भने समाचार नलेख्नुहोला, तथ्य बिनाको समाचारले लगानीकर्ता भड्किन्छन, ध्यान पुर्याएर समाचार लेख्नुहोला' उनले भने।