नेपाल प्रहरीका डिआईजी रमेश खरेलले राजिनामा दिएको घोषणा गरेका छन् । नेपाल प्रहरीको २६ औं प्रमुख नियुक्ति प्रकरणमा असन्तृष्ट रहेका डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका हुन् । उनले बुधबार कार्यविभागको प्रशासन शाखामा राजीनामाको पत्र बुझाएका हुन् ।
खरेलले प्रहरी संगठन र देशका लागि आफ्ना केही सपना भएको तर ति पुरा गर्न नसक्ने भएपछि प्रहरी संगठनमा प्रहरीमात्र भइरहन जागिर खाइरहनु नपर्ने भन्दै राजिनामा दिएका हुन् ।
साथै खरेलले फेसबुक पेजमा लेखेका छन्– ‘नव नियुक्त प्रहरी महानिरिक्षकज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै २९ वर्षे सेवा अवधीबाट अलगिने निर्णय गर्दछु साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदीबहिनी प्रति आभार व्यक्त गर्न चाहन्छु । जयनेपाल ।’
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाललाई बढुवा गरेको थियो। नेपाल प्रहरीमा दुई प्रतिस्पर्धी डीआइजीद्वय रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन्।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख खनाल कार्यसम्पादन मूल्यांकन (कासमू) मा एक नम्बरमा थिए।
बढुवा भएका खनालले भने खरेललाई राजिनामा नदिन आग्रह गरेका थिए । खनालले भनेका थिए 'प्रहरी प्रमुख चयनमा सरकारका पनि केही योजना होलान्,‘त्यसलाई मैले पुरा गर्छु जस्तो लाग्यो होला त्यसैले नियुक्त भएँ।’संगठनलाई अझ बलियो बनाउन खरेलले मलाई साथ दिनुपर्छ, सेवाबाट अवकाश होइन' ।