अबदेखि सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट हुने भएको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुभारम्भ गरेका हुन् । यो सेवा बुधबार करदाता सेवा केन्द्र ठमेलबाट आरम्भ गरिएको छ । कार्यक्रममा मन्त्री खतिवडाले छिट्टै राजस्व संकलनको सबै काम यही प्रणालीबाट सुरु हुने बताए ।
राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी प्रणाली लागू गरिएको हो । अब विद्युतीय बिल भुक्तानी प्रणाली ई–पेमेन्ट सिस्टम कार्यान्वयनमा आएलगत्तै सेवाग्राहीले घरबाटै सबै किसिमका कर तिर्न सक्नेछन् ।
उक्त प्रविधि कार्यान्वयनमा आएपछि मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कजस्ता मुख्य करहरु विद्युतीय प्रणालीमार्फत भुक्तानी हुनेछ । यो व्यवस्था लागू भएपछि करदाताले आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलबाट सिधै सरकारलाई राजस्व भुक्तानी गर्न सक्ने छन् ।
सरकारले २०७५ सालभित्र देशभरका सम्पूर्ण कार्यालयमा अनलाइन पेमेन्ट सिस्टम विस्तार गरिसक्ने योजना बनाएको छ । साउन महिना देखि देशै भरका राजश्व कार्यालयहरुबाट जतिसुकै रकम पनि विद्युतिय प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन हुने अर्थ मन्त्रालयले जनाएको छ।