अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले इरानसंग ब्यापार गर्ने देशले अमेरिकासंग ब्यापार नगर्न चेतावनी दिएका छन् । ट्रम्पले आफ्नो ट्वीटमार्फत ‘इरानसँग ब्यापार गरिरहेकाहरुले अमेरिकासँग ब्यापार गर्ने छैनन्’भन्दै आफ्ना व्यापार साझेदारलाई चेतावनी दिएका हुन्। ट्रंपले ट्वीटमा भनेका छन् ''ईरान माथि आधिकारिक रूपमा प्रतिबंध लगाईएको छ, यो अहिले सम्म कै कडा प्रतिबन्ध हो, नोभेम्बर महिनामा यो झन् कडा हुनेछ, जो इरानसंग सम्बन्ध राख्न चाहन्छ उसले अमेरिकासंग सम्बन्ध राख्ने छैन, म बिश्वमा शान्ति कायम गर्न यो भनिरहेको छौ, अरु केहि छैन ।
इरानमाथिको प्रतिवन्ध कडा पारिएको भन्दै यस्तो दबावले इरान नयाँ परमाणु संझौताका लागि तयार हुने अपेक्षा ट्रम्पले गरेका छन्। ट्रम्पले इरानसँग यस अगि ओवामा सरकारले गरेको परमाणु संझौता एक पक्षीय र खतरनाक र हालसम्मकै खराव संझौता भएको टिप्पणी गर्दै आएका छन्। इरानमाथि प्रतिवन्ध घोषणा गरिएको भन्दै ट्रम्पले नोभेम्बरसम्ममा तेल व्यापारमै प्रतिबन्ध लगाउने बताएका छन्।
मंगलबारदेखि लगाइएको प्रतिवन्धमा इरानले अमेरिकी मुद्रा खरिद गर्न नपाउने,सुनजस्ता मूल्यवान धातु कारोबार नगर्ने, स्टील, अल्मुनियम कोइला जस्ता औद्योगिक बस्तु रोक्ने घोषणा गरेका छन्। अमेरिकाले नोभेम्बर ५देखि इरानको ऊर्जा तथा पारवाहन ,पेट्रोलियम व्यापारमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।
नेपालले अमेरिका र इरान दुवै संग ब्यापार गर्दै आएको छ । नेपालले गत आर्थिक बर्ष इरानबाट १ करोड १८ लाख ६२ हजार बराबरको समान आयात गरेको थियो भने ८ लाख ४४ हजारको मात्र सामान निर्यात गरेको थियो । इरान संग नेपालको १ करोड ११ लाख बढी ब्यापार घाटा छ । अमेरिकासंग भने नेपालले गत आर्थिक बर्षमा ९ अर्ब ८९ करोड बराबरको आयात गरेको छ भने ९ अर्ब १६ करोड बराबरको निर्यात गरेको छ । अमेरिकासंग नेपालको ब्यापार घाटा ७३ करोड १५ लाख रहेको छ ।
अमेरिकाले नेपाल सहित ७५ भन्दा बढी देशमा ब्यापार गर्दै आएको छ । बिश्वका धेरै मुलुकहरुले अमेरिका र इरान दुवै देशसंग ब्यापार गर्दै आएका छन् ।