अब दुई पांग्रे सवारीसाधनले प्रदेशका आधारमा नम्बर प्लेट पाउने भएका छन् । यस अघि अंचलको नामबाट सवारी दर्ता हुदै आएको अब देशका आधारमा दर्ता हुने भएको हो ।
दशैँ अगाडी बाग्मती अञ्चलमा ९९ लटका सबै नम्बर सकिएको र तीन डिजिटको संकेत अक्षर (लट नम्बर) राख्न नियमावली संशोधन गर्नुपर्ने भएकाले नयाँ मोटरसाइकल÷स्कुटरको दर्ता रोकिएको थियो । मन्त्रिपरिषदले ३ अंकको लट नम्बर राख्ने तथा प्रदेशको आधारमा दर्ता हुने गरी निर्णय गरेको हो । मन्त्रिपरिषद्ले गरेको यो निर्णय बिहीबार राजपत्रमा प्रकाशित भएको छ ।
नयाँ व्यवस्थानुसार अगाडि र पछाडि दुवै नम्बर प्लेटको माथिल्लो लाइनको सुरुमा सवारी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि सो प्रदेशभित्रको यातायात व्यवस्था कार्यालयको क्रमसंख्या जनाउने अंक उल्लेख गर्नुपर्नेछ । प्रदेशभित्र रहेका यातायात व्यवस्था कार्यालयको क्रमसंख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोकेबमोजिम हुनेछ । अगाडिको नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र सवारी दर्ता नम्बर लेख्नुपर्नेछ ।
यसैगरी, पछाडिको नम्बर प्लेटको दोस्रो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र तेस्रो लाइनमा सवारीको दर्ता नम्बर लेख्नुपर्नेछ । यस्तो सवारी समूह जनाउने अंक आवश्यकतानुसार ००१ देखि ९९९ सम्म हुनेछ । त्यस्तै, सवारी दर्ता नम्बर बढीमा ४ अंकको (०००१ देखि ९९९९) सम्म हुनेछ । प्रयोगअनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानुपर्नेछ ।
यस्तो छ नयाँ ब्यबस्था अनुसार नम्बर प्लेट लेख्ने तरिका ।