नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक पत्रकारका लागि आर्थिक तथा धितोपत्र बजारसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। धितोपत्र वस्तु विनिमय बजार गतिविधिलाई ध्यानमा राख्दै बोर्डले प्रदेश तीनका आर्थिक पत्रकारलाई प्रशिक्षण दिएको हो।
कार्यक्रममा बोर्डका अध्यक्ष ड़ा रेवत बहादुर कार्कीले पूँजीबजार सम्बन्धी सचेतना तथा समन्वयका लागि आर्थिक पत्रकारहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। यस प्रकारको प्रशिक्षण कार्यक्रमले बिषयबस्तु बुझ्न र त्यसबारे रिपोर्टिंग गर्नलाई आर्थिक पत्रकारहरुलाई थप सहज हुने बताउदै अध्यक्ष कार्कीले लगानी र पैसाको बिषय जोडिएकाले संवेदनशील भएर पूँजीबजारसंग सम्बन्धीत बिषयमा समाचार सम्प्रेषण गर्न आग्रह गरे।
त्यस्तै बोर्डका बरिष्ट कार्यकारी निर्देशक वरिष्टनाथ पौड्यालले कार्यपत्र प्रस्तुत गर्दै केहि बिषय अहिले पनि गलत तरिकाले रिपोर्टिंग भएको बताए। नेपाल टेलिकमको सेयर दश रुपैयाँले तलमाथी हुँदा पनि त्यसले कुल बजार पुंजीकरणमा ठुलो असर पर्ने भन्दै बजार पुंजीकरणलाई आधार बनाएर रिपोर्टिंग गर्नु सहि नभएको बताए।
त्यस्तै बोर्डका बरिष्ट कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरिले सत्य तथ्यमा आधारित रहेर मात्र समाचार लेख्नुपर्ने बताएका छन। समाचार सकारात्मक र नकारात्मक भन्दा तथ्य सहित हुनुपर्ने गिरीले बताए।
बोर्डले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गर्दै आएकोमा यस पटक प्रदेश तीनका लागि कार्यक्रम राखिएको बोर्डका अध्यक्ष कार्कीले जानकारी दिए। प्रदेश नम्बर १, २ र ६ का आर्थिक पत्रकारलाई प्रशिक्षण दिईसकिएको र निकट भविष्यमा नै अन्य प्रदेशमा पनि प्रशिक्षण कार्यक्रम सञ्चालनको तयारी भइरहेको उनले बताए। कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आबद्ध ४० भन्दा बढी आर्थिक पत्रकारको सहभागिता थियो ।