जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजनाका लागि ६३ करोड ९९ लाख अनुदान दिने भएको छ । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे ।
सम्झौता कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा जापानी सहयोग नियोग (जाइका) का प्रमुख प्रतिनिधि युमिको आशाकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरेका छन् ।
राजदूत साइगोले दिगो विकासका लक्ष्य हासिल गर्ने तथा ‘समृद्ध नेपाल, खुुशी नेपाली’ को योजनालाई साकार पार्ने वर्तमान सरकारको उद्देश्य हासिलमा सानै भए पनि सहयोग गर्न पाएकामा जापान खुशी भएको बताए । अर्थ सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे ।