कृषि तथा पशुपन्क्षीमन्त्री चक्रपाणी खनालले बहुदल आएपछि कृषिको विकास घटेको स्वीकार गरेका छन् । बहुदलभन्दा पञ्चायतमा कृषि उत्पादन राम्रो भएको अनुभव आफूले गरेको भन्दै वर्तमान सरकारले कृषिको विकासमा योजनावद्ध कामको थालनी गरेको दाबी गरे । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालद्वारा आयोजित एशियन कृषि सम्मेलन तथा प्रदशनीको उद्घाटन गर्दै मन्त्री खनालले विगत तीन दशकमा अपेक्षाकृति कृषिको विकास हुन नसकेको स्वीकार गरेका हुन् ।
कृषिका लागि छिट्टै विषादी चेँकजाँच ऐन ल्याउन लागिएको जानकारी दिँदै उनले ऐन आएपछि तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने दाबी गरे । मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु ल्याइएको दाबी गर्दै मन्त्री खनालले आगामी १० बर्षमा नेपालको कृषिले फड्को मार्ने बताए ।
उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको सुनाउँदै उनले २१ देखि ३५ बर्षका युवाहरुलाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान नसकिने बताए । २ करोड ८० लाख जनसंख्या भएको मुलुकमा ३ करोड ७ लाख कित्तामा जग्गा टुक्रा पारिएको भन्दै जमिनको खण्डिकरण पनि कृषि क्षेत्रको समस्या रहेको बताए ।