नेकपाको सचिवलय बैठक सकियो, नेताको कार्यविभाजन टुंगियो ( सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 11:52:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेकपाको सचिवालय बैठकले बिभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्ज थपेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई कार्यक्षेत्र तोकेको महासचिव विष्णु पौडेलले जानकारी दिए । 

बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मा दिएको छ भने उपप्रमुखमा खोटाङको सहइञ्चार्ज रहेका रामकुमार राईलाई ल्याइएको छ ।

विष्णु रिजाल विदेश विभागको उपप्रमुख नियुक्त भएका छन् । बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्वराजदूत प्रमेश हमाललाई चयन गरेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई प्रादेशिक मामिला विभागको उपप्रमुख बनाईएको छ । उक्त विभागको प्रमुख घनश्याम भुसाल छन् । नेकपाले नेतृ रामकुमारी झाँक्रीलाई इन्जिनियर संगठनको सहइञ्चार्ज बनाएको छ ।

बैठकले सहकारी तथा गरिवी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई थप गरेको छ । कर्णाली अञ्चल सम्पर्क समन्वय कमिटीको इञ्चार्जमा सत्या पहाडी र सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको इञ्चार्जको जिम्मेवारी वीरमान चौधरीले पाएका छन् । 

महिला संगठनको सहइञ्चार्जमा अमृता थापा र सीता पौडेल, आदिवासी जनजातिमा सुरेश आलेमगर र शेरबहादुर तामाङ, दलित मुक्ति मोर्चाको सहइञ्चार्जमा तिलक परियार र बोमवहादुर विक तथा प्रेस संगठनमा महेश्वर दाहाल सहइञ्चार्ज थपिएका छन् ।

जनसांस्कृतिक महासंघको इञ्चार्जमा केदार न्यौपाने र सहइञ्चार्ज खगेन्द्र राई, खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इञ्चार्जमा जीवन घिमिरे र अजम्बर काङमाङ नियुक्त भएका छन् भने शिक्षक सम्बद्ध संगठनको सहइञ्चार्जमा हिक्मत कार्की चयन भएका छन् ।

केही जिल्लामा सहइञ्चार्ज थपिएका छन् । तिलकुमार मेन्याङबो ताप्लेजुङ, भगवती चौधरी सुनसरी, प्रमोदनारायण यादव र हरिनारायण चौधरी सिरहा, चुँडामणी जंगली कास्की र दीपक देवकोटा कैलालीको सहइन्चार्ज बनेका छन् । पर्सा जिल्ला इञ्चार्जमा रामचन्द्र साह तेली र मजदुर विशेष जिल्ला कमिटी सचिवमा बलराम खत्री चयन भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved