तुर्किस्तान पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं जोरपाटी बस्ने रामेछाप गंगा गाउँपालिका-३ घर भएका ३४ वर्षीय हर्क बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
हर्क बहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका-६ बस्ने व्यक्तिलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाई दिने र मासिक १ हजार २ सय डलर तलव र खान बस्न समेत दिने आश्वासन दिएका थिए । साथै उनी नक्कली टिकट समेत बनाई ३ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहिन भएका थिए । प्रहरीले जोरपाटी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य ४ जना व्यक्तिबाट समेत जनही ३ लाख रुपैयाँ दरले रकम लिई ठगी गरेको खुल्न आएको सो महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।