अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली पत्रकार र सञ्चार माध्यमहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । अर्थ मन्त्रालयमा बिहीबार नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग भएको भेटमा अर्थमन्त्री पौडेलले सरकार मिडिया र पत्रकारहरुलाई प्रोत्साहन, सहकार्य र सहयोग आदान–प्रदान गरी अघि बढ्ने बताएका हुन् ।
उनले पत्रकारहरुको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता लगायतका विषयमा घनिष्ठ सम्बन्ध राखेर अघि बढ्ने स्पष्ट पारे । लोकतन्त्रमा मिडिया र पत्रकारलाई चौथो अंगको भूमिका निर्वाह गर्न आग्रह गर्दै मन्त्री पौडेलले सशक्त र प्रभावकारी रुपमा प्रस्तुत हुन अनुरोध समेत गरे ।
यस्तै उनले सरकारको कार्य तथा गतिविधिहरुलाई निरन्तर रुपमा नियालेर सुझाव र आलोचना गर्न पनि आग्रह गर्दै मिडियाको निगरानीपूर्ण आँखाले सरकारलाई जनताको पक्षमा काम गर्न मद्धत गर्ने धारणा व्यक्त गरे ।