अब जनादेशबाट ओलीलाई प्रधानमन्त्री बनाएर अर्थतन्त्र सुधार गर्छौ : पूर्व अर्थमन्त्री पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2022 | 07:40:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताएका छन् । सोमवार अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले गठबन्धन सरकारले ल्याएको बजेट विवादमा परेकाले अहिले मुलुक बजेट बिहीन रहेको दाबी गरे । पौडेलले गठबन्धन सरकारका अर्थमन्त्रीले बजेट गलत विधिबाट ल्याएको बताए । उनले संविधानले गरेको व्यवस्था, कानून ,बजेट निर्माणका मूल्य मान्यताहरुलाई अस्वीकार गरेर निर्माण गरी ल्याएको बजेट जनताले स्वीकार नगर्ने भन्दै बजेटको कुनै अर्थ नभएको बताए । पौडेलले
बजेट आफैँ विवाद रहेकाले बजेट बजेटको रुपमा नभएको भन्दै बजेट कार्यान्वयन गर्न नसकिने जिकिर गरे । उनले अर्थमन्त्रीलाई छानबिन गर्न संसदीय समिति बनेकाले छानबिन समितिको प्रतिवेदन नआएसम्म बजेटको रुपमा मान्न नसकिने बताए ।

पूर्व अर्थमन्त्री पौडेलले भने ,‘नेपाल अहिले बजेट बिहीन अवस्थामा छ । यदि यो बजेट निर्माणको प्रक्रियामा गलत विधि अवलम्बन गरिएको छ भने संविधानले व्यवस्था र कानूनले व्यवस्था गरेको भन्दा फरक ढङ्गले बजेट बनाउन पाइन्छ की पाइँदैन । त्यस्तो अधिकार कसैलाई छ की छैन । कसैलाई अधिकार छैन । बजेट निर्माणको प्रक्रियामा निःसन्देह विधि र कानूनसम्मत हुनुपर्छ । बजेट निर्माणका मूल्य र मान्यताहरु रहेका छन् । संविधानले व्यवस्था, कानून ,बजेट निर्माणका मूल्य मान्यताहरुलाई अस्वीकार गरेर निर्माण गरेको बजेट जनताले स्वीकार गर्नु हुँदैन । त्यसरी आएको बजेटको कुनै अर्थ छैन । जसरी बजेट बनेको छ आफै विवादमा गएको छ । यो बजेट बजेटको रुपमा छैन । बजेट कार्यान्वयन हुने हैसियतमा छैन  । अहिले देश बजेट बिहीन रहेको छ । अर्थमन्त्रीले बजेट निर्माण गर्दा अनाधाकृत व्यक्तिहरु राखेर करका दर हेरफेर गरेको विषयमा संसदीय छानबिन समितिले बनेको छ । त्यो समितिले अर्थमन्त्रीको छानबिन प्रतिवेदन तयार नभएसम्म बजेटको रुपमा मान्न सकिँदैन । बजेट निर्माणको विषय अत्यन्त गोपनीय विषय हो । संघीय संसदमा जनताका प्रतिनिधिहरुलाई राखेर बजेट प्रश्तुत गरिन्छ । त्यहाँ प्रश्तुत भएपछि जनताले बजेटका विषयमा थाहा पाउँछन् । तर बजेट बनाउने सर्वमान्य सिद्धान्तलाई समेत अस्वीकार गरेर
अनाधिकृत व्यक्तिहरुलाई सहभागी गराएर बजेट निर्माण गरिएको छ । यो बजेट निर्माणको प्रक्रिया नै गलत छ । करका दर जसरी हेरफेर भएको छ । त्यसमा राष्ट्रिय आवश्यकतालाई नभएर स्वार्थ समूहलाई फाइदा पुग्नेगरी काम गरिएको छ । यो वास्तवमा धेरै ठूलो अपराध गरिएको छ । त्यस कारण बजेट बिरोधयोग्य भएकाले यो बजेटलाई बजेटको रुपमा मान्न सकिँदैन ।’

पूर्व अर्थमन्त्री पौडेलले प्रधानमन्त्री शेरबहादर देउवा नेतृत्वको सरकारको बहिर्गमन नै अर्थतन्त्रको निकास भएको दाबी गरे । उनले अब फेरि जनताको जनादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने दाबी गरे । उनले नेकपा एमाले निर्वाचनका माध्यमबाट यो सरकारलाई बिस्थापित गरेर र एमालेको नेतृत्वमा जनादेशको आधारमा नयाँ सरकार निर्माण गर्ने बताए ।

उनले भने ,‘ अहिलेको अर्थतन्त्रमा देखिएको समस्या वर्तमान सरकारका कारण आएको हो । यसको समाधान र देशको अर्थतन्त्र सुधार भनेकै अहिलेको सरकारको बहिर्गमन हो । फेरि पनि जनादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अर्थतन्त्र सुधार गर्नेछौं । नेकपा एमाले निर्वाचनका माध्यमबाट यो सरकारलाई बिस्थापित गर्छौं र एमालेको नेतृत्वमा जनादेशको आधारमा नयाँ सरकार निर्माण गछौं । अर्थतन्त्रका समस्या,समाजिक जीवन,आर्थिक जीवनका समस्या र लगानीको समस्या समाधान गर्दै देशलाई फेरि पनि आर्थिक
समृद्धि बनाएर सामाजिक न्याय र समानताको दिशामा देशलाई लैजान्छौं ।’
 

पूर्व अर्थमन्त्री पौडेलले निर्वाचनमार्फत आउने सरकारले अर्थतन्त्रका समस्या,समाजिक जीवन,आर्थिक जीवनका समस्या र लगानीको समस्या समाधान गर्दै देशलाई फेरि पनि आर्थिक समृद्धि बनाएर सामाजिक न्याय र समानताको दिशामा देशलाई लैजाने बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved