ठूला दलका समानुपातिक सूचीः देउवापत्नी आरजुदेखि पूर्वसभामुख महरासम्म (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 08:37:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार रातीसम्म दलहरुले समानुपातिकतर्फको बन्दसूची पेश गरेका छन् । दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा प्रधानमन्त्रीकी धर्मपत्नी, पूर्वसभामुखदेखि पूर्वराजदूतसम्म रहेका छन् । 

समानुपातिक निर्वाचन निर्देशिका–२०७९ मा दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमको जनसंख्या प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्ने व्यवस्था छ । 

तर, दलहरु आफैँले औपचारिक रूपमा सूची सार्वजनिक नगरे पनि उनीहरुले प्रत्यक्ष निर्वाचनमा लडाउँदा चुनाव हार्ने भयले ठूला नेतालाई संसद छिराउने उपायका रुपमा सामानुपातिक कोटालाई भर्याङ बनाउने गरी सूची पेश गरेका छन् ।

आयोगले दलहरुलाई असोज १६ गतेसम्म सूची सच्याउने समय दिएको छ । त्यसकारण सोमबार पेश भएको सूचीमा भएका नामावली नै अन्तिम भने होइनन् । 

कुन दलबाट को को छन् बन्दसूचीमा ?

प्रमुख दलहरूले प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि २२० जना समानुपातिक उम्मेदवारको नाम आयोगमा बुझाएका छन् । 

संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेले समानुपातिकका लागि मापदण्ड नै बनाएको थियो । एमालेले यसअघि समानुपातिक सांसद भइसकेका नेतालाई पुनः समानुपातिकमा सिफारिस नगर्ने मापदण्ड बनाए अनुसार नै नयाँ नाम सिफारिस गरेको छ । 

एमालले बुझाएको बन्दसूचीमा केन्द्रीय पदाधिकारी र यसअघि समानुपातिक सांसद भइसकेका नेताको नाम छैन । समानुपातिक सूचीमा परेका एमालेका सबैभन्दा ठूला नेता हुन् स्थायी कमिटी सदस्य रघुजी पन्त । 

पन्तसँगै गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य लीलबहादुर थापा, अनेरास्ववियुकी अध्यक्ष एवम् पार्टी केन्द्रीय सदस्य सुनीता बराल, उमा कोइरालाको नाम एमालेले बुझाएको बन्दसूचीमा छ । 

एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापालाई पनि एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । युवा महिला कोटाबाट मेनुका पछाईं, भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटी, ईश्वरी रिजाल विश्वकर्माको नाम पनि बन्दसूचीमा छ ।

त्यस्तै, नेपाली काँग्रेसले सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार सिफरिस गरेको छ । २०७४ को निर्वाचनमा कैलाली–५ बाट चुनाव हारेकी आरजुले प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेको भएपनि सभापति देउवाले उनको नाम समानुपातिकमा सिफारिस गरेका हुन् । 

काँग्रेसले आफ्ना ‘हेभिवेट’ नेताहरुलाई समानुपातिकको सूचीमा राखेको छ । महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियारले सोमबार दिउँसो निर्वाचन आयोगमा बुझाएको प्रारम्भिक सूचीमा विमलेन्द्र निधि, प्रकाशरण महत, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर लगायत ठूला नेताको नाम छ ।

तर, काँग्रेसमा विवाद कायम रहेकाले सूची असोज १६ सम्म धेरै फेरबदल हुनसक्ने अनुमान गरिएको छ ।

यता, काँग्रेस सँगकै गठबन्धनमा रहेको माओवादी केन्द्रले पूर्वसभामुखसमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महरालाई समानुपातिकमा राखेको छ । अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने उपाध्यक्ष महरा २०४८ सालपछिका हरेक निर्वाचनमा निर्वाचित हुँदै आएका थिए । 

माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर निर्वाचित भएका महरा २०६४, २०७० र २०७४ को चुनावमा लगातार निर्वाचित भएका थिए ।

महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट निर्वाचित भएका महरा विभिन्न मन्त्री हुँदै सभामुखसम्म भए । रोशनी शाहीले बलात्कारको मुद्दा लगाएपछि महरा सभामुख पदबाट बहिर्गममा परे ।

यसपाली पनि, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रोल्पा, दाङ– १ र २ बाट उम्मेदवार सिफारिस भएका उनले आफू प्रत्यक्ष चुनाव नलड्ने भन्दै समानुपातिक रोजे ।

महरासँगै, माओवादीको बन्दसूचीमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, परशुराम तामाङ र बाबुराम भट्टराईको पार्टीबाट पनि ५ जना परेका छन् । गंगानारायण श्रेष्ठ, राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष दुर्गा सोब र प्राध्यापक दुर्गा न्यौपानेको नाम पनि बाबुराम कोटाबाट माओवादीले समानुपातिकमा सिफारिस गरेको छ । 

पूर्वमन्त्री हकिकुल्ला खाँ, रेणु चन्द, दलित आयोगकी पूर्वअध्यक्ष सुशील श्रीपाइली, उद्योगी दिलसुन्दर श्रेष्ठ, ईश्वरचन्द्र ज्ञवाली, मोहनमान स्वाँर, अजम्बर राई काङबाङलाई पनि माओवादीले समानुपातिक सूचीमा राखेको छ 

एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले पनि समानुपातिक तर्फको बन्दसूची आयोगमा पुर्याएको छ । उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, भरतकुमार श्रेष्ठलाई समानुपातिक उम्मेदवार बनाएको छ । 

हमाल पूर्वराजदूत हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved