प्रधानमन्त्री दाहालले दिए रमजान महिनाको शुभकामना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 06:51:12 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले इस्लाम धर्मालम्बीहरुलाई रमजानको रोजा पर्वको शुभकामना दिएका छन्। आज एक विज्ञप्ती मार्फत प्रधानमन्त्री दाहालले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्वी लगायत समस्त दिदीबहिनी तथा दाजुभाइमा रमजानुल मुवारक र सुस्वास्थ्य, सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्। 

प्रधानमन्त्री दाहालले शुभकामना संदेश दिंदै मुलुकको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहिष्णुता, सहकार्य र राष्ट्रिय एकतालाई थप मजबुत पार्दै राष्ट्रको समृद्धि र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। 

प्रधानमन्त्री दाहालले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक रूपले विविधतायुक्त राष्ट्र भएकाले यस्ता चाडपर्व, धर्म र संस्कारले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता प्रवर्धन गर्दै राष्ट्रिय एकता र राष्ट्र हितलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन्। 

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य साकार पार्न र मौलिक पहिचानको संरक्षणमार्फत आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सदैव प्रतिवद्ध रहेको समेत संदेशमा उल्लेख गरिएको छ। 

रमजान महिना इस्लाम धर्मको पात्रो हिजरीअनुसार नवौं महिना हो। यो महिनालाई धार्मिक ग्रन्थ कुरानको जन्म भएकाले इस्लाम धर्मावलम्बीले १२ महिनामध्ये यस महिनालाई पवित्र महिनाको रूपमा लिने गर्दछन्। यो एक महिनामा नेपाल लगायत विश्वभरिका इस्लाम धर्मावलम्बीहरु सूर्यको उदय र अस्तको बीचमा निराहार व्रत बसी आत्म सन्तुलन, आत्मविश्वास तथा मानवीय तृष्णालाई सीमित गरेर भक्तिभावतर्फ केन्द्रित हुने गर्दछन्।

रमजान महिना व्रतको महिनामात्र नभई मानवता, सहयोगी भावना र सद्भाव जस्ता पवित्रताका अभ्यासहरूको संयोजन पनि हो। यस महिनाभर दान दिने, गरिब र असहायलाई सेवा गर्ने समेत गरिन्छ। यस पर्वले मानिसलाई सत्मार्गमा डोर्याउन , विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरितसमेत गर्दै आएको छ।

नेपालमा फागुन २८ गते बेलुका खाना (सेयरि) खाएर फागुन २९ गतेदेखि रमजान महिनाको ब्रत सुरु भएको छ। यो ब्रत एक महिनासम्म चल्नेछ। एक महिना लामो चल्ने यो पर्वको मुख्य आकर्षण रोजा,तराबी र दानलाई मानिन्छ। प्रत्येक नाबालक/बालिका, अशक्त बाहेक इस्लाम धर्म मान्ने सबैले अनिवार्य रोजा बस्नुपर्ने प्रचलन रहिआएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved