चितवनमा महिला नेतृत्व कृषि सम्मेलन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2024 | 10:08:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन २०२४ सुरु भएको छ । चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको महिला नेतृत्व कृषि सम्मेलनको शनिबार कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले उद्घाटन गर्दै सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। 

कृषि क्षेत्रको विकास, कृषि पेशाको सम्मान एवं कृषकलाई प्रोत्साहन गर्न आफु प्रतिबद्ध रहेको उनले बताए। मन्त्री साहले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषिको आधुनिकीकरण गरिनुपर्ने बताए। त्यसका लागि नीतिगत रुपमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको उनको भनाई थियो। 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उच्च परिमाणमा कृषि उपज आयात भइरहेको भन्दै  कृषिको आधुनिकीकरण गर्दै बजारीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए। 

“कृषि वस्तुहरुमा समेत हाम्रो परनिर्भर बढेको छ । परनिर्भरता घटाउँदै लैजान आन्तरिक उत्पादन र त्यसको खपतमा ध्यान दिन आवश्यक छ” उनले भने, “आगामी बजेटले आन्तरिक उत्पादन र प्रयोग प्रोत्साहन गर्ने नीति अबलम्बन गर्नुपर्छ । कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन र खपत बढाउन आवश्यक छ।”

कृषि पेशालाई सम्मान गर्न, कृषकलाई प्रोत्साहित गर्दै उत्पादन र उत्पादकत्व बढाउने नीति अबलम्बन गर्न आग्रह गरे। उनले आगामी बजेट स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने रणनीतिमा केन्द्रित हुने विश्वास व्यक्त गरे। 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कृषि क्षेत्रको व्यवसायीकरणमा जोड दिनुहुँदै कृषकले दुःख गरेर उत्पादन गरेका कृषि उपजको बजारीकरणका लागि सहयोग गर्नुपर्ने बताए। परिसंघ महिला नेतृत्व फोरम सभापति छायाँ शर्माले शर्माले सम्मेलनमा महिलामूखी कृषि यान्त्रीकरण, नेपाको माटो सुहाउँदा कृषि विकास, दीगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्नताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने बताए। कृषिको महत्व बुझाउन र दीगो भएर लाग्न यो सम्मेलनले उत्प्रेरित गर्ने विश्वास लिइएको शर्माको भनाइ छ । 

“अहिले कृषि सरकारको प्राथमिकतामा नपरेको र कृषकलाई पनि हिनताबोध हुने क्षेत्र परेको छ । कृषकलाई प्रोत्साहन गर्न यो सम्मेलन गरेका हौं” उनले भने। 

कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरूलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझाव पेश गरिने छ । दुई दिनसम्म चल्ने सम्मेलनमा उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषयमा छलफल हुने छ।

 चितवन उद्योग संघका अध्यक्ष सुर्य प्रसाद न्यौपानेले चितवनको पर्यटन र कृषि  उद्यमशीलतामा संघले काम गरिरहेको बताए। ठुलो मात्रामा कृषकको संख्या चितवनमा रहेको र भरतपुर पर्यटन बर्ष पनि भएकाले यो कृषि सम्मेलन महत्वपूर्ण भएको उनले बताए। 

जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद अधिकारीले कृषि पेशा घाटाको पेशा रहेको चर्चा गर्दै विश्वको कृषि उत्पादनको औषत उत्पादन पनि नेपालले नभेटेको बताए। नीति निर्माणमा संलग्नहरुले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिए नेपालको कृषिले राम्रो फड्को मार्ने उनले बताए।  सम्मेलनको प्रमुख वक्ता डा. शोभा पौडेललले सम्मेलन कृषिलाई लक्षित गरेर गरिएको पहिलो सम्मेलन बताउँदै यसरी कृषिलाई नै केन्द्रित गरी कमै कार्यक्रम हुने गरेको बताए। कृषि पेशामा महिलाको संलग्नता धेरै भएपनि प्रोत्साहन नगरिएको बताए। 

सम्मेलनको मुख्य नारा कृषिको रूपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा नवप्रवद्र्धन, दीगोपन र उद्यमशीलताको प्रवद्र्धन रहेको छ । आइतबारसम्म चल्ने सम्मेलनमा कृषि प्रदर्शनी समेत गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved