काठमाडौँमा गरिव घरपरिवार गणना हुँदै, गणकलाई दिईयो तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 02:01:30 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाभित्र चैत २५ (२०८०) देखि गरिब घरपरिवार गणना सुरु हुने भएको छ । गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षण गर्ने सुपरिवेक्षकका लागि आजदेखि थापाथली इञ्जिनियरिङ्क क्याम्पसमा ४ दिनको तालिम सुरु भएको छ । 

तालिम सुरु गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, गणकहरुले भरेको विवरण स्रोतमा पुष्टि हुनु पर्ने बताए । ‘अवस्था अनुमान गरेर विवरण भर्ने सुविधा कसैलाई छैन । यसबाट प्राप्त हुने तथ्याङ्कहरु नीति, योजना तथा कार्यक्रम निर्माण गर्ने आधार हुन् । फिल्डमा जानुअघि तथ्याङ्कको संवेदनशीलता हरेक गणक, सुपरिवेक्षक र यसमा खटिने अधिकारीहरुलाई बोध हुन जरुरी छ ।’ उनले भने, ‘फिल्डमा जाने हरेक व्यक्तिसँग नागरिकले आफ्ना कोणबाट कुरा राख्न सक्नुहुन्छ । यसरी सोधिने हरेक प्रश्नको सहजतापूर्वक उत्तर दिने क्षमता लिएर फिल्डमा होला । आफूले उत्तर दिन नसक्ने सवाल भए आफ्नो भूमिकाका बारेमा बुझाएर सोधिएका प्रश्नको उत्तर पाउने ठाउँका बारेमा भनिदिनुपर्छ ।’

ट्याब्लेटबाट विवरण संकलन हुने यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रुपमा काम गर्ने जनशक्ति प्राप्त गर्न महानगरपालिकाले गएको मंसिर १६ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो। अनलाइन प्रणालीबाट आवेदन लिएको यस कार्यक्रभमा गणकका लागि ८ हजार २८ जना र सुपरिवेक्षकका लागि २ हजार ६६५ जनाको आवेदन प्राप्त भएको थियो । आवेदकमध्येबाट योग्यताका आधारमा सर्टलिष्टमा छानिनुभएका उम्मेदवारको सूची, माघ १४ गते प्रकाशन गरिएको थियो । त्यही महिनाको २१ गतेदेखि २४ गतेसम्म लिइएको अन्तर्वार्ताबाट फागुन १७ गते योग्यता क्रमको अन्तिम नतिजा प्रकाशन गरिएको थियो । यसबाट २१ जना सुपरिवेक्षक र २०९ जना गणक छानिएको महानगरले जनाएको छ । 

तथ्याङ्क अधिकृत कृष्णराज तिवारीकाअनुसार जनगणना २०७८ ले महानगरपालिकाभित्र देखाएको घरपरिवार संख्या (२ लाख ३८ हजार ९६६) लाई वडागत रुपमा हेरेर गणक र सुपरिवेक्षक खटाउने तयारी छ । १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति खटाइनेछ । 

यसमा सबैभन्दा धेरै वडा नं. १६ र ३२ गरी २ वटा वडामा २१/२१ जना खटिनेछ । तिवारीकाअनुसार वडा नं. ६ र ३१ मा १४/१४ जना, वडा नं. १५ मा १२ जना, वडा नं. १४ मा ११ जना, ४ र ७ मा १०/१० जना जनशक्ति परिचालन हुनेछन् । 

यस्तै वडा नं. २६ र १३ मा ९/९ जना, वडा नं. ३, ९ र १० गरी ३ वटा वडामा ८/८ जना जनशक्ति खटिनेछन् । वडा नं. २९ मा ६ जना, वडा नं. १७ र ३० मा ५/५ जना, वडा नं. ५ मा ४ जना, वडा नं. २, ११, २१ र २८ मा ३/३ जना खटिनेछन् । वडा नं. ८, १२, १८, १९, २० र २५ गरी ६ वटा वडामा २/२ जना खटिनेछन् । वडा नं. १, २२, २३, २४ र २७ गरी ५ वटा वडामा १/१ जना जनशक्ति खटिनेछन् । तिवारीले गणना योजना सुनाए । गणकहरुबाट प्राप्त भएको विवरण सुपरिवेक्षकले प्रशोधन गर्ने काम गर्नेछन् ।  

काठमाडौँसँगै देशभरिको गणना सकिँदै  

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाका अनुसार काठमाडौँ महानगरपालिका गणनाका लागि अन्तिम पालिका हो । यसपछि तथ्याङ्क संकलनको काम सकिनेछ । 

तथ्याङ्क संकलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको हो । हरेक ५ बर्षमा परिचय पत्र नविकरण गराउनु पर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म कसैको पनि परिचय पत्र नविकरण गरिएको छैन । सहसचिव सापकोटाका अनुसार यसपछि सबै विवरण अद्यावधिक हुनेछ । 

गरिब परिवारलाई सरकारबाट प्रदान गरिने सुविधा तथा सहयोग अब यसै परिचय पत्रका आधारमा हुनेछ । दीर्घ रोगको उपचारका लागि आर्थिक सहयोग, लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने सुविधा यही परिचय पत्रका आधारमा हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved