जापानमा २५ वर्ष यताको सबैभन्दा शक्तिशाली समुद्री आँधीको मार परेको छ भने अधिकारीहरूले १० लाखभन्दा बढी मानिसहरूलाई आआफ्नो घर छाडी सुरक्षित स्थलतर्फ जान भनेका छन्। जेबी नाम दिइएको उक्त शक्तिशाली समुद्री आँधी दक्षिणी क्षेत्रमा जमिनको सम्पर्कमा आएको थियो र त्यसले ठूलो वर्षाका साथै १७२ किलोमिटर प्रतिघण्टाको वेग भएको हावाहुरी पनि ल्याएको थियो।
ओसाका खाडीमा आँधीले एउटा ट्याङ्करलाई उडाएर पुलमा ठोकाइदिएको थियो भने क्योटोमा एउटा रेल स्टेशनको छत खसेको छ। जापानी समाचार संस्था क्योदोका आँधीबेहरीका कारण कम्तीमा छ जनाको ज्यान गइसकेको छ। तर आँधी उत्तरतर्फ अघि बढ्दै जाँदा त्यसको शक्ति घट्दै जाने अनुमान छ।
स्थानीय समयअनुसार मङ्गलवार मध्याह्नतिर उक्त आँधी शिकोकु टापुको जमिनको सम्पर्कमा आएको थियो। त्यसपछि त्यो जापानको ठूलोमध्येको होन्शु टापुमा फैलिएको थियो। अधिकारीहरूले ठूला समुद्री छाल, डुबान र पहिरोको जोखिम हुने चेतावनी दिएका छन्। आँधीका कारण दशौँ हजार मानिसहरूको घरको विद्युत् आपुर्ति अवरुद्ध भएको छ र अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थलतर्फ जान भनिसकेका छन्।
क्योदोका अनुसार सन् १९९३ मा ४८ जना मारिने वा बेपत्ता हुने गरी आएको शक्तिशाली आँधीयता यो जेबी आँधीलाई देशको मौसम पूर्वानुमान निकायले 'उच्च शक्तिशाली' वर्गमा राखेको छ। आँधीका कारण सयौँ हवाई सेवा, रेल तथा डुङ्गा सेवाहरू रद्द गरिएको छ। ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग डुबानमा परेको छ।
प्रधानमन्त्री शिन्जो आबेले एउटा आपत्कालीन बैठक डाकेर मानिसहरूलाई "आफ्नो जीउज्यानको रक्षा गर्न आवश्यक कदम चाल्न र बेलैमा सुरक्षित स्थानमा ठाउँ सर्न र तयारीहरू गर्न" आह्वान गरेका छन्।जापानमा नियमित रूपमै ठूला आँधी र तुफानहरूको मार पर्ने गर्छ र यो ग्रीष्म याममा उक्त देशले निकै नै खराब मौसमको सामना गर्नु परेको छ।गत जुलाईमा पहिरो र ठूलो स्तरको बाढीका कारण २०० जना भन्दा बढीले ज्यान गुमाउनु परेको थियो। त्यस लगत्तै त्यहाँ चरम गर्मीको लहर चलेको थियो।