भारतले पाकिस्तानी भुमिमा हमला गरेको छ। मंगलबार बिहान ३:३० बजे भारतीय वायूसेनाको विमानले नियन्त्रण रेखा पार गर्दै पाकिस्तानी भुमिमा बम खसालेको हो । विमानले एलओसी पास गर्दै नियन्त्रण रेखा नजिकैको बालाकोट नामको क्षेत्रमा बम खसालेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
ति बिमानहरुले बालकोट नजिक रहेको जैस ए मोहम्मदको एक शिविरमा हमला गरेर ध्वस्त पारेको बताईएको छ । भारतले त्यस क्षेत्रमा हजार किलो बल खसालेको हो ।
भारतले यसबारे केही बोलेको छैन तर पाकिस्तानले भने भारतीय सेनाले आफ्नो भुमिमा प्रवेश गरेर आक्रमण गरेको पुष्टि गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफुरले ट्वीट गरेका छन्, ‘भारतीय विमानले मुजफ्फराबाद सेक्टरमा घुसपैठ गर्यो । जवाफमा पाकिस्तानी सेनाले तुरुन्त कारवाही गरेपछि विमान भाग्यो । भाग्ने क्रममा उसले हड्बडाएर केही बमहरु खसाल्यो, जुन बालाकोट नजिक खसे । यसमा कुनै मानवीय वा भौतिक क्षति भएन ।’
भारतले १९७१ को युद्दपछि पहिलो पटक नियन्त्रण रेखा पार गरेको हो । कश्मिरमा ४० जना भारतीय सैनिकको ज्यान जाने गरी हमला भएपछि भारतले त्यसको जवाफ दिएको हो ।