पाकिस्तानमा छोरीलाई देशको प्रथम महिला घोषणा गरेपछि निम्तियो बहस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 06:48:36 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी अनि दिवंगत पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोकी छोरी आसीफा भुट्टो जर्दारी त्यहाँको ‘फर्स्ट लेडी’ वा 'प्रथम महिला' बनाइएपछि निकै चर्चामा छिन्।सामान्यतया, कुनै देशको राष्ट्रपति वा प्रधानमन्त्रीको पत्नीलाई उक्त दर्जा दिने गरिन्छ। तर पाकिस्तानमा राष्ट्रपति आसिफ अली जर्दारीले आफ्नी छोरी आसीफालाई देशको प्रथम महिला हुने घोषणा गरेका छन्। आसीफा केवल १४ वर्षकी हुँदा उनकी आमा बेनजिर भुट्टोको सन् २००७ मा हत्या भएको थियो।

इस्लामिक देश पाकिस्तानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा भुट्टो निर्वाचित भएकी थिइन्। सन् १९९८ मा प्रधानमन्त्री बनेपछि उनी तीन सन्तानकी आमा बनिन्। बेनजिर भुट्टोको २००७ मा हत्या भएपश्चात् जर्दारी पहिलो पटक सन् २००८ मा राष्ट्रपति बनेका थिए। त्यस बेला आधिकारिक रूपमा फर्स्ट लेडीको रूपमा कसैलाई नियुक्त गरिएको थिएन। त्यतिखेर जर्दारी सन् २०१३ सम्म पाकिस्तानको राष्ट्रपति पदमा बहाल रहे।

हालै भएको निर्वाचनपश्चात् जर्दारीले गत आइतबार पुन: पाकिस्तानका १४औँ राष्ट्रपतिको शपथ लिएपछि उनकी कान्छी छोरी आसीफाको नाम उक्त पदका लागि घोषणा गरिएको हो। अहिले आसीफा ३१ वर्षकी छन्। जर्दारीको यो घोषणासँगै पाकिस्तानमा छोरीलाई कसरी प्रथम महिला बनाउन मिल्छ भन्ने बहस चलेको छ।

सन् २०२० देखि राजनीतिमा सक्रिय आसीफा

आसीफाकी दिदी बख्तावर भुट्टोले आइतवार सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “आसीफा अली जर्दारी – जेलबाट छुटाउन अदालती सुनुवाइहरूका बेला आसिफ अली जर्दारीका साथैमा रहनुदेखि लिएर पाकिस्तानकी प्रथम महिला बन्नुसम्म।”

आसीफा अली जर्दारीले प्रथम महिलालाई दिइने सबै सुविधा पाउनेछिन्। उनी पाकिस्तानकी सबैभन्दा कान्छी प्रथम महिला बनेकी छन्। आसीफा अली जर्दारी पाकिस्तान पीपल्स पार्टी अर्थात् पीपीपीको चुनावी अभियानमा सक्रिय थिइन्। उनले आफ्नो राजनीतिक जीवन नोभेम्बर २०२० मा पीपीपीको र्‍यालीबाट सुरु गरेकी थिइन्। तर जब उनलाई पाकिस्तानको प्रथम महिला बनाउने निर्णय गरियो, त्यसमा प्रश्न पनि उठेका छन्।

के भन्छन् कानुनका जानकार

पाकिस्तानको अङ्ग्रेजी भाषाको पत्रिका द एक्सप्रेस ट्रिब्यूनले कानुनका जानकारहरूसँग कुरा गरेको छ। ती जानकारहरूका अनुसार राष्ट्रपतिसँग आफ्नो परिवारको कुनै महिला सदस्यलाई प्रथम महिलाको उपाधि दिने अधिकार हुन्छ।

कानुनमा त्यस्तो कुनै बाध्यता नरहेको उनीहरूले बताए। सन् १९७५ मा बनेको यससम्बन्धी कानुनमा राष्ट्रपतिका अधिकारहरूबारे उल्लेख छ, तर त्यसमा प्रथम महिलाको प्रसङ्ग उल्लेख छैन।राष्ट्रपतिलाई दिइने सुविधा उनको परिवारका सदस्य र छोराछोरीलाई पनि दिइन्छ। कानुनअनुसार राष्ट्रपतिको परिवारका सदस्यले सरकारी आवास र विमानसेवा प्रयोग गर्न पाउँछन्।

आसीफाबारे थप केही कुरा

पाकिस्तानका पूर्वविदेशमन्त्री बिलावल भुट्टो आसीफाका दाजु हुन्। आसीफाले अक्सफोर्ड ब्रूक्स यूनिभर्सिटीमा सामाजिक तथा राजनीतिशास्त्र अध्ययन गरेकी छन्।आसीफाले २१ वर्षको उमेरमा अक्सफोर्ड यूनियनमा भाषण दिएकी थिइन्। उनी सामाजिक कार्यमा पनि सक्रिय देखिन्छिन्। आसिफ अली जर्दारी बर्मिङ्घममा उपचाररत मलाला युसुफजाईलाई भेट्न जाँदा आसीफा पनि साथै गएकी थिइन्।

उनी सामाजिक सञ्जालमा पनि सक्रिय छिन्। पाकिस्तान अझै पनि पोलियोको समस्यासँग सङ्घर्ष गरिरहेको छ। आसीफा पोलियोसम्बन्धी अभियानमा पनि निकै सक्रिय थिइन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved