नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साउन १ देखि पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण गर्ने भएको छ। साउन १ देखि अनलाइन कारोबारको परिक्षण सुरु भएलगत्तै शेयर लगानीकर्ताहरुले आफुले कारोबार गर्दै आएको ब्रोकरबाट युजर नेम र पासवर्ड प्राप्त गर्नेछन।
हाललाई परिक्षण कारोबार भएकाले लगानीकर्ताले युजर नेम र पासवर्ड पाएपनि अर्डर दिन पाउनेछैनन तर ब्रोकरले लिएको अर्डरको कार्यन्वयन कसरि भईरहेको छ भन्ने कुरा अनलाइन मार्फत नै जानकारी प्राप्त गर्नेछन।
समानान्तर रेटिङमा अनलाईन प्रणाली र अहिलेको प्रणालीमा सेयर कारोबार हुने भएकाले अहिले कायम प्रणालीबाट नै लगानीकर्ताले खरिद बिक्रि आदेश दिनुपर्नेछ तर ब्रोकरले लिएको अर्डर कसरि कार्यन्वयन हुँदैछ भन्ने कुरा लगानीकर्ताले घर, अफिसमै बसेर अनलाइन मार्फत जानकारी लिन सक्नेछन। यसरि जानकारी लिनका लागि लगानीकर्ताले अनिवार्य रुपमा युजर नेम र पासवर्ड लिनुपर्ने हुन्छ। साउन १ देखि नै लगानीकर्तालाई युजर नेम र पासवर्ड वितरण गरिनेछ।
अर्डर दिने बाहेकका सबै काम लगानीकर्ताले अनलाइनबाटै थाहा पाउनेछन। यसरि लगानीकर्ताले अनलाइन कारोबार प्रणालीबारे जानकारी प्राप्त गर्नेछन भने बिस्तारै यो प्रणालीबारे अब्य्स्त समेत हुनेछन। युजर एसेप्टेन्स टेष्ट (युएटी) नभई अनलाइन प्रणाली भ्यालिड नहुने भएकाले लगानीकर्ताका लागि अहिलेलाई अनलाइन प्रणाली 'ऐना' हेरे जस्तै हुनेछ।
साउन १ देखि परिक्षण कारोबार गर्नका लागि नेप्सेले दिएको मापदण्ड अनुसार नै ५० सेयर ब्रोकरहरुले क्लाउडमा आधारित हार्डवेयर जडान गर्ने काम सप्मन्न गरिसकेका छन। ब्रोकरहरुले २ वटा क्लाउड बेस आइटि कम्पनी सिल्भर लाइनिङ र एक्सेस वर्ल्डबाट हार्डवेयर तयार गरेका छन। अहिले त्यसमा सफ्ट्वेयर इन्टिग्रेसनको काम तिब्र गतिमा भैरहेको छ।
२५ ब्रोकरले सिल्भर लाइनिङबाट हार्डवयर जडान गरेका छन भने २५ ब्रोकरले एक्सेस वर्ल्डबाट सिस्टम लिएका छन। यससंगै अहिलेसम्म नेप्सेकै सर्भरबाट हुँदै आएको कारोबार अब ब्रोकरको आफ्नै सर्भर, डाटा रिकभरबाट हुनेछ।
नेप्सेले (युएटी) का लागि एक भारतीय कम्पनीलाई नियुक्त गरिसकेको छ। उक्त कम्पनीले (युएटी) परिक्षण गरेको रिपोर्ट अर्थमन्त्रालयले स्वीकृत गरेपश्चात मात्र पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली कार्यन्वयन हुनेछ र लगानीकर्ताले पनि अनलाइन मार्फत नै अर्डर दिन र सम्पूर्ण कारोबार बारे जानकारी लिन सक्नेछन। युएटि परीक्षण सफल भएपछी मात्र अहिलेको प्रणालीलाई बिस्थापित हुनेछ। कारोबारको म्याचिङ भने अहिलेको प्रणालीबाट हुनेछ।