मतदान गर्ने यो बिधि र तरिका अपनाउनुहोस, तपाइँको अमुल्य मत बदर हुनेछैन (तरिका सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 25, 2017 | 06:34:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मङ्सिर १० गते अर्थात भोलि पहिलोचरण अन्तर्गत ३२ वटा जिल्लामा प्रतिनिधि र प्रदेशसभाकोको निर्वाचन हुँदैछ। निर्वाचन आयोगले पर्याप्त तयारि नगरेकाले मतदाताहरुलाई कसरी र कतिवटा मतपत्रमा कति वटा छाप लगाउने भन्नेबारे स्पष्ट जानकारी समेत हुनसकेको छैन। 

मतदातालाई चुनाव गर्न सिकाउनका लागि करोडौं खर्च गरेको आयोगले चुस्त र सहि ढंगले प्रचार प्रसार गर्न नसक्दा कसरी चुनाव गर्ने भन्नेबारे धेरै जना अझै द्विविधामा छन्। 

तपाई पनि त्यस्तै द्विविधामा हुनुहुन्छ भने यहाँ उल्लेख सूचना तपाईलाई प्रतिनिधि र प्रदेशको प्रत्यक्ष र समानुपातिकको मतदान कसरी गर्नेबारे केहि  ज्ञान दिन सक्ने अपेक्षा गरेका छौं। 

भोलि मङ्सिर १० गते पहिलोचरण अन्तर्गत ३२ वटा जिल्लामा प्रतिनिधि र प्रदेशसभाकोको निर्वाचन हुँदैछ। यदि तपाई यी ३२ जिल्लाको मतदाता हुनुहुन्छ भने भोलि बिहान ७ बजे देखि अपरान्ह ५ बजेसम्म मतदान केन्द्रमा उपस्थित भई मतदानमा सहभागी हुनुपर्नेछ। मतदानमा सहभागी हुन  मतदाता परिचयपत्र आफ्नो साथमा लैजानुहोस। 

यदि मतदाता परिचय पत्र छैन भने पनि नआत्तिनुहोस। निर्वाचन आयोगले परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ । 

मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ। त्यसैले मतदाता परिचय पत्र भुलेको वा बिर्सेको अवस्थामा पनि तोकिएका यी परिचय पत्र साथमा लैजानुहोस।

एक जना मतदाताले ३ वटा अलग अलग मतपत्रमा ४ वटा छाप लगाउनुपर्नेछ। स्थानीय तहको चुनाबमा झैँ जनताको अमुल्य मत बदर वा रद्द नहोस भन्ने उदेश्यले यस पटक निर्वाचन आयोगले ३ वटा मतपत्रका लागि अलग अलग गरि ३ जना प्रतिनिधि खटाएको छ। एक जना प्रतिनिधिले प्रतिनिधि सभाको मतपत्र मतदातालाई दिनेछन भने अर्कोले प्रदेशसभा को मतपत्र दिनेछन। त्यस्तै अर्का प्रतिनिधिले तपाइँलाई प्रतिनिधि र प्रदेशसभाको समानुपातिक तर्फको मतपत्र दिनेछन।  

पहिलो मतपत्र प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको उम्मेदवारको लागि  

मतदाताले पहिलो मत प्रतिनिधिसभाको प्रत्त्यक्ष तर्फको उम्मेदवारको लागि दिनुपर्नेछ। प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एकमा स्वस्तिक छाप लगाई तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ।

दोस्रो मतपत्र प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवारको लागि 

त्यस लगत्तै निर्वाचन आयोगका प्रतिनिधिले तपाईलाई प्रदेशसभाका प्रत्यक्ष उम्मेदवारका लागि कालो मसीले छापिएका मतपत्र दिनेछन। जहाँ तपाईले आफ्नो निर्वाचन क्षेत्रबाट प्रदेशसभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको लागि कालो मसीले छापिएका निर्वाचन चिह्नहरूमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ।

तेस्रो मतपत्र प्रतिनिधि र प्रदेशसभाका समानुपातिक तर्फका उम्मेदवारका लागि     

समानुपातिकतर्फ मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागमा मतपत्र–१ रहेको छ र त्यो मतपत्र प्रतिनिधिसभा सदस्यका लागि भएको हुँदा त्यसमा रहेका दलहरूका निर्वाचन चिह्नमध्ये मतदाताले कुनै एक राजनीतिक दलको चिह्नमा मत संकेत गर्न सक्नेछन।  

त्यसैगरी, त्यही मतपत्रको तल्लो भागमा रहेको मतपत्र–२ प्रदेशसभाका लागि भएको र त्यसमा रहेका चिह्नहरूमध्ये आफूलाई मनपरेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्नेछ। 

यसरी एक जना मतदाताले तीनवटा मतपत्रमा चारवटा स्वस्तिक चिन्हमा छाप लगाउनुपर्नेछ। चुनाब केवल उम्मेदवारका लागि मात्र महत्त्वपूर्ण हुँदैन। यो नागरिकको लागि पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। नेपालको इतिहासमा पहिलोपटक हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तपाइँको एक मतको ठुलो मुल्य हुन्छ। तसर्थ कसैको लोभ लालचमा नफसी निस्पक्ष भई तपाईले दशौँ मिनेट सोचेर मात्र मत दिनु पर्नेछ।

यी कारणले तपाइँको अमुल्य मत बदर हुन सक्छ:

प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारका लागि तपाइँले अलग अलग मतपत्र पाउनुहुनेछ। जहा तपाइँले आफुलाई मन पर्ने एक उम्मेदवारको चुनाव चिन्हमा मात्र स्वस्तिक छाप लगाउनुपर्नेछ। 

तर तपाईले स्पष्ट बुझिने गरि स्वस्तिक छाप लगाउनु भएन भने तपाइँको अमुल्य मत बदर हुनेछ र तपाईले चाहेको उम्मेदवार तपाईको एक मतकै कारण पराजित हुनेछन। त्यस्तै स्वस्तिक छाप लतपतिने गरी पनि मत नदिनुहोस। यसले पनि तपाईको मत बदर हुनेछ। साथै दुई कोठाको बीचमा स्वस्तिक छाप लगाउँदा पनि तपाइँको मत बदर हुनेछ।  


मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न हुने ३२ जिल्ला

प्रदेश नं १: सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,

प्रदेश नं ३: नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप

प्रदेश नं ४: मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,

प्रदेश नं ५: रूकुम (पूर्वी भाग) र रोल्पा

प्रदेश नं ६: रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,

प्रदेश नं. ७: दार्चुला, बझाङ, बाजुरा र वैतडी । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved