गैर जिम्मेवार युवायुवतीलाई कानुनको डण्डा चलाउने कि नैतिक शिक्षा पढाउने ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 24, 2018 | 04:38:49 PM मा प्रकाशित

laxmi  sunrise bank

कुरो केही दिन अगाडीको मात्रै हो । गोपीकृष्ण हल नजिकैबाट चक्रपथ, टिचिङ हस्पिटल, बालुवाटार, नक्साल, नागपोखरी हुँदै पुतलीसडक सम्मको यात्राको लागी नेपाल यातायात चढे । लगभग ५ किलोमिटरको दुरीमा रहेको चक्रपथबाट एकजना उमेरले ६५ काटेका (अन्दाजी) एकजना वृद्धा मान्छे बसमा चढे । यताउती हेरे बसमा बस्ने ठाउँ कतै थिएन । बसमा यात्रुहरु खचाखच थिए ।

सरकारले जेष्ठ नागरिकको सम्मानमा सबै गाडीमा २ वटा सिट जेष्ठ नागरिकका लागी भनेर छुट्याएको हुन्छ । उक्त बसमा पनि जेष्ठ नागरिक सिट लेखिएको थियो । बसको ढोका पट्टिको छेवैमा २ सिट थिए जेष्ठनागरिकको लागी । तर त्यहाँ अर्धवैशे एकजना युवा इअरफोन कानमा राखेर मोबाइलमा गाना सुन्दै आनन्दले यात्रा गर्दै थिए । 

मैले उनको उमेर सोधे, उनले २१ वर्ष भएको बताए । “जेष्ठ नागरिक सिटमा बस्नुभएछ यहाँ बुबा उभिँदै हुनुहुन्छ छोडिदिनोस् न” भने । गाडीको सहचालकलाई यो विषयमा मैले भने । उनले पनि कयौ पटक ती युवालाई उठ्न र सिट छोडिदिन आग्रह गरे तर उनले मानेनन् । उनले अलि अगाडी झर्ने हो भन्दै टारे । विचरा ती बुबा उभिएरै नक्सालमा झरे । 

यो विषय खासै ध्यान दिन योग्य नभएपनि अब हामी कता जाँदैछौ भन्नेमा आशंका उत्पन्न भएको छ । केही दिन अघिसम्म वृद्धाश्रमको चर्को विरोध गर्ने म सोच्न बाध्य भए । अरुका बाउ आमालाई सम्मान गर्न नजान्नेले आफ्नालाई पनि पक्कै गर्दैन । 

एकदिन चाबहिल चोकबाट जोरपाटी जानको लागी गोकर्णेश्वर यातायात चढे । उक्त गाडी साँच्चै सिस्टममा चलेको जस्तो लाग्यो । गाडीमा गर्भवती भएकालाई छुट्टै सिट, बच्चा भएका आमाका लागी छुट्टै सिट । वृद्धा तथा जेष्ठ नागरिकका लागी छुट्टै सिट । त्यति मात्रै होईन, पत्रकार सिट भनेर पनि लेखेको रहेछ अगाडी भागमा । 

संयोगले त्यो सिट खाली थियो, म गएर बसे । हायात होटल नजिकै पुगेपछि एकजना बुढी आमा गाडीमा चढ्नुभयो । गाडी त्यस्तै खचाखच थियो, बस्न त के उभिन सम्म पनि मुस्किल थियो । आमालाई बोलाएर बस्नोस् आमा भने, उनले पर्दैन भन्दै थिईन । तर पनि कर गरेर राखे । विजपाटी डटकम र बाहुलामा प्रेस लेखिएको सेतो टिसर्ट लगाएको थिए मैले । सबैले मेरो मुखमा हेरे । एकछिन अचम्म लाग्यो । 

ती बुढी आमालाई आफु बसेको सिटमा राखेर म पछाडी फर्किए । त्यहाँ ड्राईभर पछाडी गर्भवती महिलाका लागी सिट भनेर लेखिएको थियो । मनमनै खुशी भए । तर उक्त सिटमा गर्भवती भएकी महिला थिइनन्, त्यहा क्याम्पस पढ्दै गरेका २ जना युवती थिए । मैले नजिकै गएर उनीहरुको उमेर सोधे । उनीहरुले आनाकानी गरे, तर पनि मैले भन्नुस् न भने । उनीहरुमध्ये एउटीले १६ र अर्कीले १७ वर्ष उमेर भएको बतए । अनी कतिमा पढ्नुहुन्छ भनेर सोधे, उनीहरु दुवैले फस्ट इयर भने । मैले त्यहाभन्दा बढी सोधखोज नगरी सिटको माथि आँखा लगाउन आग्रह गरे । उनीहरु मुखामुख गर्न थाले । 

यो प्रसंग खासै उक्किने थिएन, तर सोही गाडीमा खादिएर एकजना गर्भवती महिला बसेकी थिइन पछाडीपट्टि । उनले एकजना अर्धवैशेको हात समातेकी थिईन, सायद ती युवा उनका श्रीमान हुनुपर्छ (नहुन पनि सक्छ ) । मैले गाडीको सहचालकलाई कुरा गरे, उ झर्कियो, “खोजेर बस्नुपर्छ त, हाम्रो काम को कहाँ बसेको छ हेर्ने होईन नि ।” म अलि नरम भएर “उहाँहरुलाई बरु अर्को सिटमा राख्दिनोस् सर जि, तर गर्भवती सिटमा यसरी विहे नै नगरेको मान्छे बस्दा सुहाएन, फेरि गर्भवती महिला नभएको भए म बस्दा पनि हुन्थ्यो तर यहाँ हुनुहुन्छ ।” यति भन्दा नभन्दै जोरपाटी आईपुग्यो म ओर्ले । 

फेरि सोच्न बाध्य तुल्यायो मलाई । तर के सोच्ने, कुनै ठाउँ नै भेटिन । दिमागले पनि केही सोच्नै सकेन । यस्ता विषयमा अनुगमन गर्ने कसले ? सहचालक खाली छ आउनुस्, सिट मिलाईदिउला भन्दै मानिस बोलाउँछ । भित्र को कसरी बसेको छ मेरो काम भित्र हेर्ने होईन भन्छ । ट्राफिक प्रहरीलाई सिठ्ठी फुक्दै ठिक्क छ । 

सवारी साधनमा लेखिएको हुन्छ, जेष्ठ नागरिक सिट, महिला सिट तर विरलै पालना गरेको पाईन्छ । नेपालमा सवारी साधन वृद्धा मैत्री, महिला मैत्री त हुन सकेका छैनन् भने अपाङ्ग मैत्री कहिले बन्लान ?




 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved