३ प्रतिशत ब्याजमै स्टार्टअप कर्जा: ३९४ वटा परियोजना सर्टलिस्ट, २०० ले मात्र ऋण पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2024 | 09:59:08 AM मा प्रकाशित

laxmi  sunrise bank

 स्टाटर्अप उद्यम कजार्का लागि परियोजना प्रस्ताव पेश गरेका आवेदक  मध्येबाट ३९४ वटा योग्य प्रस्तावको सूची सार्वजनिक गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आवेदन परेका  १ हजार ६ सय ५८ वटा प्रस्ताव मध्येबाट योग्य सूचीमा परेका ३९४ वटा स्टार्टअपको सूची सार्वजनिक गरेको हो।

प्रतिष्ठानले योग्य सूचीमा परेकालाई प्रस्तुतीकरणको लागि आह्वान गरेको छ।  उनीहरुको प्रस्तुतीकरणको लागि वैशाख १७ गतेदेखि जेठ ३ गतेसम्मको समय तोकिएको छ। प्रतिष्ठानका अनुसार तोकिएको समयमा प्रस्तुतीकरणको लागि उपस्थित नभएका परियोजनाहरू स्वतः छनौटमा पर्ने छैनन् । व्यापारिक योजना प्रस्तुतीकरण गरिने र त्यसका आधारमा उपयुक्त मापदण्ड पूरा गर्ने परियोजनालाई अन्तिम चरणमा छनोट गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले जानकारी दिए । उनका अनुसार अन्तिम चरणको छनोट सकेर जेठको पहिलो सातादेखि कर्जा वितरण प्रक्रिया सुरु गरिने छ।  दुई सय जनालाई कर्जा उपलब्ध गराउन सकिने उनको भनाई छ। 

उनका अनुसार प्रस्तुतीकरण गरेका परियोजनाहरूलाई बैङ्कमार्फत क्रेडिट अप्राइजल गरी पचास अङ्कभन्दा बढी ल्याउनेलाई अङ्कको आधारमा कर्जाको लागि सिफारिस गरिनेछ । सिफारिसमा परेका उद्यमीहरूले बैङ्कसँग सम्झौता गरी बैङ्कको नियमानुसार साँवा र ब्याज रकम तोकिएको समयमा ऋण चुक्ता गरिसक्नुपर्ने छ ।

यहाँ क्लिक गरेर योग्य सूचीमा परेका ३९४ स्टार्टअपको सूची हेर्न सकिन्छ ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० ले स्टार्ट अप उद्यम कर्जा प्राप्त गर्न उद्यमहरूको निश्चित मापदण्ड तोकेको थियो। सोही मापदण्डलाई आधार मानी प्राप्त परियोजनाहरूको प्रारम्भिक सूची तयार गरिएको प्रतिष्ठानले जनाएको छ ।  

  नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न नेपाल सरकारले चालु आ.व.का लागि रु. २५ करोड विनियोजन गरेको छ । सो कार्यक्रमबाट ३% व्याजदरमा कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत भएको छ । सो रकमको परिचालन गर्न राष्ट्रिय वाणिज्य बैङ्कसँग सम्झौता भईसकेको छ । स्टार्टअप कर्जा प्राप्त गर्ने उद्यमी छनौट गर्न कर्जाको अप्राइजल, कर्जा प्रवाह र कर्जा साँवा – ब्याज असुली सबै प्रक्रियामा राष्ट्रिय वाणिज्य बैङ्कको भूमिका रहने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

  कार्यविधिमा स्टार्टअप उद्यमको रूपमा सञ्चालन गर्न सकिने उद्यमका १६ वटा क्षेत्र तोकिएका थिए। 

कुन क्षेत्रका स्टार्टअपले आवेदन दिन पाउँने व्यवस्था थियो?

(क) कृषि तथा पशुपन्छीसँग सम्बन्धित,

(ख) वन पैदावारसँग सम्बन्धित,

(ग) पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित,

(घ) विज्ञान, प्रविधि, सूचना तथा सञ्चारसँग सम्बन्धित,

(ङ) मानव स्वास्थ्य सेवासँग सम्बन्धित,

(च) शिक्षा तथा शिक्षण सिकाईसँग सम्बन्धित,

(छ) सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित,

(ज) अटोमोबाइलसँग सम्बन्धित,

(झ) परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधारसँग सम्बन्धित,

(ञ) खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित,

(ट) घरायसी वा दैनिक जीवनयापनसँग सम्बन्धित,

(ठ) खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित,

(ड) फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसँग सम्बन्धित,

(ढ) विपद व्यवस्थापनसँग सम्बन्धित,

(ण) वैकल्पिक तथा नवीकरणीय उर्जासँग सम्बन्धित,

(त) जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित ।


कस्ता स्टार्ट अप योग्य हुन्छन् ?

 निवेदन दिने अन्तिम मितिसम्म सात वर्ष ननाघेका देहाय बमोजिमका मापदण्ड पूरा गरेका उद्यमी कर्जाका लागि योग्य हुनेछन् ।

(क) कुनै वस्तु वा सेवाको उत्पादन वा सञ्चालन वा वितरण प्रक्रियामा नवीन विध एवम् सृजनशील सोचको प्रयोग गरेको,

(ख) कुल चुक्ता पूँजी दुई लाख रुपैयाँदेखि दस लाख रुपैयाँसम्म भएको,

(ग) उद्यमको कुल कारोबार वार्षिक दुई करोड रुपैयाँभन्दा बढी नभएको,

(घ) स्थिर पूँजी (घर जग्गाको मूल्य बाहेक) दुई करोड रुपैयाँभन्दा बढी नभएको ।

माथि जुनसुकै कुरा लेखिएको भएतापनि देहायका उद्यमलाई स्टार्टअप उद्यम मानिने छैन :

(क) प्रचलित कानून बमोजिम दर्ता नभएको,
(ख) वस्तु वा सेवा विदेशबाट आयात गरी बिक्री वितरण गर्ने गरेको,
(ग) प्रचलित कानून बमोजिम कालोसूचीमा परेको,
(घ) होल्डिङ्ग तथा लगानी कम्पनीको रूपमा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम दर्ता भएको ।


 कर्जा कसरी प्राप्त हुन्छ ?

कर्जा प्रवाह राष्ट्रिय वाणिज्य बैङ्कमार्फत गरिनेछ । कर्जाको अवधि अधिकतम पाँच वर्ष हुनेछ । साँवा र ब्याज वापतको रकम ढिलोमा कर्जा लिएको दोस्रो वर्षबाट फिर्ता गर्न प्रारम्भ गर्नुपर्नेछ। कर्जाको ब्याजदर वार्षिक तीन प्रतिशत हुनेछ । बैङ्कले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाख सम्मको कर्जाको हकमा एक किस्ता, पन्ध्र लाखसम्मको लागि दुई किस्ता र सो भन्दा माथि पच्चीस लाखसम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराउनेछ। प्रथम किस्ताको रकम सम्बन्धित उद्यमीले स्टार्टअप उद्यममा कर्जा प्रयोग गरेको पुष्ट्याइँसहित थप किस्ता माग गरेमा बैङ्कले निरीक्षण गरी प्रगतिको आधारमा थप कर्जा रकम उपलब्ध गराउनेछ । बैङ्कले स्वीकृत परियोजना नै धितोको रूपमा राख्नेछ । परियोजनाको बीमा उद्यमी स्वयंले गर्नुपर्नेछ।

छनौट भएको कसरी थाहा हुन्छ ?

अन्तिम छनोटमा परेका परियोजनाहरूको विवरण वेबसाइट www.iedi.org.np मा राखिनेछ ।

यहाँ क्लिक गरेर योग्य सूचीमा परेका ३९४ स्टार्टअपको सूची हेर्न सकिन्छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved