१० ठूला बैंकको 'लोन पोर्टफोलियो रिभ्यु' गर्न ५ कम्पनी सर्टलिस्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2024 | 01:50:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका १० ठूला वाणिज्य बैंकको 'लोन पोर्टफोलियो रिभ्यु' गर्नको लागि ५ वटा कम्पनी सर्टलिस्ट भएका छन् । बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु गर्नको लागि परामर्श सेवा दिनको लागि ५ वटा कम्पनी सर्टलिस्ट भएको राष्ट्र बैंकले जनाएको छ । 

यसको लागि  नेपाल राष्ट्र बैंकले टेण्डर आह्वान गरेको थियो  । आवेदन दिएका कम्पनी मध्ये बाट ५ वटा सर्ट लिस्ट गरिएको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकका अनुसार नेदरल्याण्डको डिलोईटी फाइनान्सियल एडभाइजरी, भारत र नेपालको सीएससी एण्ड सीओ नामक जोइन्ट भेन्चर फर्म, भारतको एसआरबिए र नेपालको बिके अग्रवालको जोइन्ट भेन्चर फर्म, भारतको केपीएमजी अस्योरेंस, र पाकिस्तानको केपीएमजी तासिर हादी रहेका छन् । 

छनौट भएका अन्तर्राष्ट्रिय लेखापरीक्षकहरूले  छनौट भएका दश ठूला वाणिज्य बैंकहरुको राष्ट्र बैंकले दिएको टीओआरका आधारमा लेखापरीक्षण गर्नेछ। आगामी जुनबाट १० ठूला वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्ने तयारी भइरहेको राष्ट्र बैंक स्रोत बताउँछ। 

स्रोतका अनुसार दश ठूला वाणिज्य बैंकको छनौटको पहिलो आधार मर्जर तथा प्राप्ति पश्चात ठूलो बनेको हुनेछ। जसअनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, नबिल बैक, ग्लोबल आइएमई बैक, प्रभु बैंक, एनएमबि बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक पहिलो रोजाईमा हुने छन्। 

अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफको सुझाव अनुसार १० ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यु हुन लागेको हो । नेपालका बैंकहरुले धेरै ऋण लगानी गरेकाले बैंकहरुले कहाँ र कस्तो क्षेत्रमा कर्जा प्रवाह गरे र त्यसको अवस्था कस्तो छ भन्नेबारे थाहा पाउनलाई दश बैंकको सम्पत्ति गुणस्तर समीक्षा गर्न भनिएको हो। यस्तो समीक्षा विश्वभर गरिंदै आएको छ र नेपालमा पनि यस अगाडि गरिसकिएको छ।

 बैंकहरुको आकार ठूलो हुँदैजाँदा उनीहरुको लगानी पनि ठूलो हुने भएकाले बैंकहरुको लगानी कै कारण भविष्यमा ठुलो जोखिम मोल्न नपरोस् भनेर नै बैंकको सम्पत्ति गुणस्तर समीक्षा गर्ने गरिन्छ।

ठूला बैंकको समीक्षा गरेपछि यसले समग्र बैंकको तस्वीर देखाउने भएकाले समयमै जोखिमको वास्तविकता थाहा हुने र समाधानको निर्णय लिन पनि सहज हुने यसको मर्म हो।  बैंकको सम्पत्ति गुणस्तर समीक्षा गर्दा यसले अन्य बैंक तथा विकास बैंक र फाइनान्सलाई पनि एउटा गाइडलाइन तयार हुने भएकाले सन् २०१५ मा पनि नेपालमा समीक्षा गरिएको थियो। 

सम्पत्ति गुणस्तर समीक्षा भन्नाले सामान्यतया कुनै पनि देशको केन्द्रीय बैंकका निरीक्षक वा राष्ट्र बैंकले तोकेको एउटा टोलीले बैंकको कर्जा, सम्पतिलगायतका खाता जाँच गर्ने विशेष अभ्यास हो। यसले बैंकले प्रवाह गरेका ऋणको एक ठूलो नमूना जाँच गर्दछ भने सम्पत्ति तथा कर्जाको वर्गीकरणमा प्रावधानहरु पर्याप्तरुपमा पालना भए/नभएको पनि हेर्ने गरिन्छ। 

यस अगाडि सन् २०१४/२०१५ मा अहिलेका गभर्नर महाप्रसाद अधिकारी डेपुटी गभर्नर हुँदा उनकै संयोजकत्वमा यस्तै प्रकारको समीक्षा गरिएको थियो। त्यो बेला विश्व बैंकको आर्थिक सहयोगमा ग्लोबल अडिट फर्म केपीएमजी पोर्चुगलद्वारा नेपालका प्रतिनिधि टिआर उपाध्याय एण्ड कम्पनीबाट शशि सत्याल तथा एसएआर एसोसिएट्सबाट रमेश धिताल  मार्फत नेपालका २२ वटा कमर्शियल बैंक सहित ५२ बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरण र प्रतिवेदनहरूको गुणस्तर र विश्वसनीयताको मूल्याङ्कन गरिएको थियो।

सोही मुल्यांकन पश्चात नै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय सँस्थाहरु मर्जर तथा प्राप्तिमा लैजाने निर्णय गरेर कार्यन्वयनमा गरेको थियो। सो  अध्ययन तथा मुल्यांकन पश्चात नै नेपालका बैंक वित्तीय संस्थाहरुलाई वाच लिस्ट अन्तर्गत प्रोभिजनको व्यवस्था गरिएको थियो। जस कारण नै त्यो बेला तत्कालिन ग्राण्ड बैंक लिमिटेडको प्रोभिजन थेग्न नसक्ने अवस्थामा पुगेपछि प्राप्ति गराएर प्रभु बैंक बनाइएको थियो। 

यति मात्र नभई बैंकमा लगानी गरेका बिभिन्न दलहरुमा आबद्द व्यवसायिक घरानाका व्यवसायीले आफ्ना दल र दलका नेतृत्त्व मार्फत उक्त प्रतिवेदनमा उल्लेख वाच लिस्ट अन्तर्गतको प्रोभिजन मिलाईदिनलाई राष्ट्र बैंकलाई गुहारेका थिए। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved