कृषि उद्यम केन्द्रद्वारा ‘कृषि क्षेत्रमा कर्जा प्रवाह र डिजिटल टुल्सहरुको प्रयोग’बारे बैंकहरुसँग छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2024 | 01:39:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रमा कर्जा प्रवाह र त्यसको सदुपयोगका लागी डिजिटल टुल्सहरुको निर्माण र प्रयोग विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कृषि उद्यम केन्द्र र आर. एण्ड डी. इन्नोभेटिभ सोलुसन प्रा.लि.को सहकार्यमा बैंक तथा वित्तीय संस्थाहरुसँग कृषि क्षेत्रमा कर्जा प्रवाह र त्यसको सदुपयोगका लागी अबलम्बन गर्न सकिने प्रभावकारी डिजिटल टुल्सहरुको निर्माण र प्रयोग विषयमा अन्र्तकृयात्मक छलफल सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन शत्रका प्रमुख अतिथी महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्थाले किसानले उपभोग गर्न पाउने गरी वित्तीय सेवा प्रदान गर्नुपर्ने बताएका छन् । उनले देशको अर्थतन्त्रको मूल नै कृषि भएकाले कृषि क्षेत्रको विकासका लागि बैंक तथा वित्तीय संस्थाहरुले बैंकमा किसानहरुको सरल र सहज पहुँचबारे कार्यक्रम बनाउनुपर्ने बताए ।

‘मुलुकमा कृषि वस्तुको आयात बढ्दै जानु भनेको देशको अर्थतन्त्रका लागि राम्रो संकेत होइन’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘युवाहरुको बढ्दो विदेश पलायनलाई रोकी स्वदेशमा नै व्यवसायिक कृषि क्षेत्रमा आकर्षित गर्ने योजना बनाउनुपर्नेछ । यसका लागि महासंघको तर्फबाट पहल पनि भइरहेको छ ।’

महासंघको कृषि उद्यम केन्द्रका सभापति डि.बी बस्नेतले बैंक तथा वित्तिय संस्थाहरुले कृषिसँग सम्बन्धित कर्जाका प्रावधानबारे किसानलाई प्रष्ट बुझाउन नसक्दा वित्तीय सेवा प्रदायक र सेवाग्राहीबीच चिसोपना आउने गरेको बताए । उनले कृषक तथा व्यवसायीहरुले पनि बैक तथा वित्तीय संस्थाको सेवा लिँदा संस्थाबाट उपलव्ध हुने कागजातमा उल्लेख भएका शर्त नबुझी सहमति लिने दिने गर्दा वित्तिय सेवा प्रदायक र सेवाग्राहीको बीचमा चिसोपन आउने गरेको बताएका हुन् । 

‘यसकारण बैंक तथा वित्तिय सेवा प्रदायकहरुले कृषि व्यवसायी र किसानहरुलाई सरल, सहज रुपमा सबैले बुझ्ने बिधि र प्रकृया लागू गरेमा वित्तीय सेवा लिने किसानहरुको संख्या पनि बढ्न जान्छ, र वित्तीय चेतना पनि बढाउँदै लैजान्छ’ सभापति बस्नेतले भने ।

उनले यस्तो कार्यमा सरकार, कृषि उद्यमी, किसान, वित्तिय संस्था लगायत सरोकारवाला सबैसँग कृषि उद्यम केन्द्र मिलेर काम गर्न तथा कृषि आधुनिकीकरण र व्यवसायीकरणको लागी सदा तत्पर रहेको बताए ।

महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सह–सभापति राजकुमार कार्कीले वित्तीय सेवामा पहुँच वृद्धि गर्न प्रभावकारी डिजिटल टुल्सहरुको प्रयोग आवश्यक रहेको बताएका छन् । उनले प्रभावकारी डिजिटल्स टुल्सहरुको प्रयोग बिना बैंकहरुको सेवा विस्तारमा कठिनाई हुन जाने भन्दै किसानलाई बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने डिजिटल टुल्सहरुसँग जोड्नुपर्ने बताए । 

महासंघकी केन्द्रिय सदस्य तथा स्टार्ट अप एण्ड इन्नोभेसन फोरमकी सभापति जुना माथेमाले नविनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सरल र सहज रुपमा सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने मस्यौदा ‘स्टार्टअप उद्यम कर्जा संचालन कार्यविधि’ जारी गराउने कार्यमा महासंघ लागी परेको बताइन् । 

कृषि उद्यम केन्द्रका बोर्ड सदस्य तथा आर एण्ड डी सोलुसन इन्नोभेटिभ सोलुसन प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकीले छलफल कार्यक्रमको उद्देश्यका साथै अन्र्तकया कार्यक्रम बारे जानकारी गराउदै छलफलमा सक्रिय रुपमा सहभागि भई आफ्ना बिचार राखिदिनहुन र सुझाव उपलव्ध गराई दिनहुन सहभागिहरुलाई अनुरोध गर्नु भयो । 

छलफल कार्यक्रममा ३० भन्दा बढी बैक तथा वित्तिय संस्थाका प्रतिनीधिका साथै विभिन्न उद्योग वाणिज्य संघका अध्यक्षहरुसहित ६० जनाको सहभागिता रहेको थियो । उपस्थित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले हाल नेपालमा कृषि क्षेत्रमा लगानी गर्न उपयुक्त नीति नियमको अभावका साथै कार्यान्वयन पक्ष कमजोर रहेको कारण कृषिमा लगानी गर्न बैंकहरु खासै तत्पर नरहेको बताएका छन् । उनीहरुले लगानीको सुरक्षाको प्रत्याभूति भएको खण्डमा बैंक तथा वित्तिय संस्थाहरु कृषि क्षेत्रमा लगानी गर्न तयार रहेको पनि बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved